काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताएका छन् । जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सवका साथै गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आन्तरिक र बाह्य परिस्थीति हेर्दा अहिले लोकतन्त्र र राष्ट्रका लागि खतरा उत्पन्न भएको भन्दै अलिकति पनि हेलचेक्राइ गर्ने हो भने देशको भाग्य भविष्य नै संकटमा पर्ने बताएका हुन् ।
अहिले सामान्य सुधारबाट समस्याको समाधान नहुने भएकाले देशका लागि अन्तिम लडाई लड्नुपर्छ भन्ने उदेश्यका साथ आफुले जसरी पनि प्रधानमन्त्री बन्न प्रयत्न गरेको र सफल भएको बताए । प्रधानमन्त्री प्रचण्डले देशमा देखिएका बिसंगति र विकृति अन्त्य गर्नका लागि आफु दृढ रहेको र यसका लागि कांग्रेससँग सहकार्य आवश्यक ठानेरै गठबन्धनलाई बलियो बनाउन लागेको धारणा राखे ।
त्यस्तै उनले कांग्रेस र कम्युनिष्ट मिलेर नै हालसम्मको परिवर्तन सम्भव भएकाले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने उल्लेख गरे । अहिले गणतन्त्रको छोटो समयमा हिजोकै केन्द्रीकृत राजतन्त्र ठीक हो कि भनेर प्रश्न उठाउने कोशिस भइरहेको भन्दै जनताको अवस्था बदल्न आत्मसमीक्षा गर्न जरुरी रहेको औल्याए ।