काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ ।
भाइटीकाका दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सञ्चालित तीनवटा बसमध्ये दुईवटाले काठमाडौं उपत्यकाका विभिन्न रुटमा सेवा दिनेछन् भने एउटा बसले स्वयम्भूदेखि भक्तपुरसम्म यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ ।
पहिलो बस सशस्त्र प्रहरी प्रधान कार्यालयबाट बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै सञ्चालन हुनेछ । दोस्रो बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क क्षेत्र समेट्नेछ ।
त्यस्तै, भक्तपुर जाने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः स्वयम्भू फर्कने रुटमा सेवा दिनेछ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चाडपर्वका बेला सार्वजनिक यातायातको अभावमा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।