काठमाण्डौँ । साना वाम दललाई माओवादी केन्द्रमा मिलाउने र सिंगो कम्युनिष्ट घटक बनाउने भन्दै अघि बढेको माओवादी नेतृत्वले समाजवादी मोर्चाको निर्माणपछि ‘नेकपा’ ब्युँताउने अर्को नयाँ जुक्ति निकालेको छ । सरकारमा रहेको माओवादीकै पहलमा समाजवादी मोर्चा गठन भैसकेको तर त्यसपछि एक पटक पनि बैठक बस्न नसकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन ‘नेकपा’ ब्युँताउने रहर लागेको छ ।
एमाले र माओवादीबीच एकीकरण भएर विघटनको नेकपा ब्युँताउन माओवादीको नेतृत्वले बढी कसरत गरिरहेको छ । नेकपा विघठन भएको साढे दुई वर्षपछि प्रधानमन्त्री प्रचण्ड आफैँ अग्रसर हुन थालेका छन् । विगत बिर्सिएर नेकपा एमालेसँग पुनः जुरेको सत्ता सहयात्रा समेत तोडेको चार महिनापछि प्रचण्डले नेकपातिरै फर्किने सार्वजनिक भाषण गरिरहँदा यो सरकार लामो समयसम्म रहदैन वा कांग्रेससँगको सहकार्य लामो हुँदैन कि भन्ने आशंका पनि जन्मिएको छ ।
समाजवादी मोर्चा घोषणापछि एउटा पनि बैठक राख्न नसकेका प्रचण्डमा नेकपा मोह झन् बढेको छ । नेपाली काँग्रेससँगको बार्गेनिङ पावर बढाउन र आफ्नो पकड बलियो बनाउन ४ असारमा प्रचण्डको नेतृत्वमा माओवादीसहित नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी ९जसपा० र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलाएर समाजवादी मोर्चा घोषणा गरेका थिए ।
त्यतिमात्र होइन पार्टीभित्र वर्षमान पुन अनन्त र जनार्दन शर्मालाई पनि ‘साइज’ मा राख्न विप्लवलाई महासचिव बनाउने सम्मको हल्ला चलाएर अघि बढेका प्रचण्डले नेकपा के का लागि ब्युँताउने भन्ने चाहिँ स्पष्ट पार्न सकेका छैनन् । तर एमालेलाई बाहिर राखेर वामपन्थी धारको समाजवादी मोर्चा बनाउनु र नेकपा व्युँताउनुको कुनै अर्थ नभएको कम्युनिष्ट बुद्धिजीवीहरुले नै बताएका छन् । समाजवादी मोर्चामा प्रचण्डले आफ्ना पूर्व सहयात्री ड. बाबुराम भट्टराईलाई समेत मोर्चामा अटाएका छैनन् ।
तर माओवादीमा एकता गराएर फकाउने कोसिस गरिरहेका छन् । बाबुरामले माओवादी पार्टीको नाम फेर्ने भए मात्र एकता हुने बताइरहेका छन् । यही बीचमा प्रचण्डले कम्युनिष्टहरुले ४० वर्ष शासन गर्ने कल्पना पनि गरिरहेका छन् । ‘कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्न सक्छ भन्ने ठानेर मैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाई डोहार्याउन सकिन्छ, भनेको थिएँ । कम्युनिस्ट एकता भयो पनि । देशको सबैभन्दा ठूलो शक्ति बन्यो । झन्डै दुईतिहाइ प्राप्त पनि भयो । जनतामा ठूलो उत्साह देखापर्यो । अब कम्युनिस्टहरूले ४०–५० कति वर्ष शासन गर्छन् भन्ने थियो । तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ’, प्रचण्डले सार्वजनिक रुपमै सो अभिव्यक्ति दिए ।