मोरङ । कोशी प्रदेश सरकार गठनका लागि गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै सरकार गठनको विषयमा चौतर्फी चासो बढेको छ। प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते बेलुका ५ बजेसम्मका नयाँ सरकार गठनका लागि समय दिएका छन्।
समय नजिकिँदै गर्दा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी समझदारी कसरी बनाउने भन्नेबारे छलफलमा जुटेका छन्। गठबन्धनका तीन दल थापाको पक्षमा उभिए पनि संसदीय अंक गणितले साथ दिएको छैन। सरकार गठनका लागि बहुमत पुर्याउन प्रदेशसभामा १ सिटको जसपा वा ६ सिट रहेको राप्रपा निर्णायक छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुखसमक्ष गठबन्धन दलले ४७ सिटसहित सरकार निर्माणको दाबी पेश गर्नुपर्ने हुन्छ। त्यससँगै ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ। जुन विषय गठबन्धनका प्रस्तावित मुख्यमन्त्री थापाका लागि चुनौती बनेको छ। नयाँ सरकार गठनका लागि औपचारिक छलफल भने प्रदेशस्तरबाट हुन सकेको छैन। एमालेसँग सत्तामा रहेको राप्रपालाई एकाएक नयाँ सरकारमा जोडिन चुनौती रहेको राप्रपा प्रदेशसभा सांसद अम्बरबहादुर विष्ट बताउँछन्।
सांसद विष्टले भने, ‘राप्रपा र कांग्रेसका प्रदेश नेताबीचको कुरालाई धेरै कुराले अघि बढाइएको पाएका छौँ। यहाँ पार्टीको सबै राजनीतिक दलसँग समदूरी रहेको छ। व्यक्ति विशेषमा समस्या छैन। कोही टाढा कोही नजिक भन्ने पनि छैन। सबै दल र व्यक्तिसँग पार्टी समान रुपमा रहेको छ। सरकार नै गठन हुन नसकी प्रदेससभा मध्यावधि निर्वाचित तिर जाओस् भन्ने पक्षमा कुै पनि दल छैनन्। मध्यावधि निर्वाचनमा प्रदेशलाई धकेल्ने पक्षमा आफूहरु नभएको विष्ट बताउँछन्।
सैद्धान्तिक रुपमा सघीयताप्रति विमती राख्ने राप्रपाका सांसद बिष्ट भन्छन्, ‘हामी मध्यावधितर्फको सोचमा छैनौँ। विकल्प अन्य पनि छन्। संवैधानिक पाटा केलाउन बाँकी नै छ। केही दिन पर्खौँ भन्ने हो। त्यसैगरि, पाँचथरका राप्रपा सांसद प्रेमराज थाम्सुहाङले प्रदेश सरकारको गठनको विषय केन्द्रको जिम्मामा रहेको बताए। थाम्सुहाङका अनुसार प्रदेशबाटै केन्द्रीय अध्यक्षलाई निर्णय गर्न अधिकार दिइएको छ।