काठमाण्डौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने संकेत ल्याएको छ । उनले संसदीय दलको बैठक नै बोलाएको छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
आजको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्दैछ । सो बैठक बस्नुअघि डाकिएको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिसहित संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल हुनेछ । सोमबार बोलेको प्रचण्डको बोलीलाई लिएर एमालेका नेताहरुले आपत्ति जनाउँदै आएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले त प्रचण्डका बोलीले नेपाली राजनीति दूषित हुँदै आएकोसमेत आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै उनले ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै संदेह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरु साक्षी छन् । प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयोु भन्ने उनको भनाई उपरोक्त श्रृंखलाकै हदैसम्मको नकचरोपनको परिणाम हो । प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषययमा प्रतिनिधि सभाका माननीय सदस्यहरुको ध्यान गम्भीर रुपमा जानेनै छ ।
पार्टीले संसदीय दलको बैठक डाकेसँगै पोखरेलले यो अभिव्यक्ति फेसबुकमार्फत दिएका हुन् । प्रचण्डले सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैँले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’
नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रितम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरेका थिए । सो क्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन मेहनत गरेको प्रसङ्ग पनि उठाएका थिए । उनले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ ।