देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शुक्रवार पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय भागबण्डा नमिल्दा सरकार बिस्तारमा समस्या देखिएको हो ।
वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले सोही दिन अन्य तीन मन्त्रीहरूलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आर्थिक वर्षका लागि बजेट बनाउन समेत समस्या देखिने निश्चित छ । आन्तरिक किचलो मिलाउन मुख्यमन्त्री चौधरी भने यतिबेला काठमाडौं पुगेका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सन्तोष पाण्डेले शुक्रवार भित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका थिए ।
उनले एक मन्त्रालय थप गरी ११ मन्त्रालय सहित सरकार विस्तार गर्ने बताएका थिए । तर शुक्रवार गर्ने भनिएको मन्त्रिमण्डल विस्तार मुख्यमन्त्री काठमाडौंमा रहेका कारण र आन्तरिक कारणले सोमवारसम्म विस्तार हुने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिसिल्नाले बताए ।