काठमाण्डौँ । राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । दिउँसो १ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरु उभिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने आसयको भनाइ राखेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पटक पटक सांसदहरुलाई बस्न आग्रह गरे पनि उनीहरु निरन्तर उभिइरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई बोलाएर वास्तविकता भन्न लगाउने वचन दिए पनि सांसदहरुले नमान्दा बैठक अवरुद्ध भएको हो । उनले सदन पनि अगाडि बढाउने र वार्ताको वातावरण पनि बनाउने भन्दै बजेटका विषयमा छलफल चलाउन आग्रह गरे पनि एमाले सांसदहरु उभिइरहे । हिजो पनि सदन अवरुद्ध भएको थियो । प्रतिनिधि सभाको बैठकसमेत अवरुद्ध भएको थियो । प्रतिनिधि सभा भोलि बस्दैछ ।