काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताए।
उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भए पनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिनका लागि सदन चलाउनुपर्नेमा जोड दिए । रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उनले सवै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे ।
लामिछानेले सदन कुनै नेताको मुडमा चल्ने कुरा नभइ जनताप्रति उत्तरदायि हुने बिषय भएको बताए । उनले यसअघिका बैठकमा सभामुखले प्रतिपक्षी दल एमालेलाई बोल्न समय दिएर सत्तापक्षलाई बोल्न समय दिएको तर रास्वपालाइ बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए ।
लामिछानेले आफुहरु जनताको मुद्धाको पछि लागेको भन्दै कुनै राजनीतिक दलको पछि नरहेको स्पष्ट पारे ।