स्याङ्गजा जिल्ला साविक विर्घा गाउँ पञ्चायत ५, हाल कालीगण्डकी गाउँपालिका वडा नं. ४ विघां अचंले निवासी बुवा डिल्लीराज पाण्डे र आमा नन्दकुमारी पाण्डेको कोखबाट मिति २०२१ पौष १० गते जन्मनु भएको थियो । एकजना दाई र चार दिदीबहिनी मध्ये कान्छी छोरीका रुपमा जन्मनु भएको थियो सुभद्रा पाण्डे ।
आफ्नो पढाईलाई निरन्तरता दिने क्रममा स्टाफनर्स पढ्दै हुनुहुन्थ्यो । कोर्स सकिन नपाउँदै पर्वत जिल्ला साविक कुर्घा गाविस वडा नं. १, हाल फलेवास नगरपालिका वडा नं १० निवासी वुवा दुर्गा प्रसाद रेग्मी र आमा वालकुमारी रेग्मीका ९ सन्तान मध्ये चौथो सन्तान काइला छोरा तिर्थ राज रेग्मीसंग मिति २०४६ असार ११ गते धार्मिक सस्कृती परम्परागत अनुसार वैवाहिक रुपमा उहाँ बाँधिनुभयो ।
पढ्दापढ्दै वैवाहिक जीवनमा बाधिए पनि उहाँ आफ्नो लक्ष्यमा कत्तिपनि विचलित हुनु भएन । आफनो भविष्यको लक्ष्य प्राप्तीको लागि झन उर्जा थपिएको महशुस गर्दै घरायसी कामधन्दा र परिवारको जिम्मेवारी वहन गर्दै अगाडी बढ्नु भएको थियो ।
सुभद्राले आफ्नो नर्सिङ्ग पढाई पश्चात पहिलो जागिरे जीवन गण्डकी अञ्चल अस्पताल पोखरावाट शुरुवात गर्नु भएको थियो । सरकारी जागिरे जीवनको उतारचढाबसंगै कहिले लुम्विनी अस्पताल बुटवलमा त कहिले भिम अस्पताल भैरहवामा रहेर सेवा गर्नुभयो । यसरी विभन्न ठाउँमा जागिरसंगै पेशालाई सेवाका रुपमा अगाल्दै उहाँले काठमाडौको विर अस्पतालमा जागिरे जीवन व्यतित गर्दै आफ्नो पढाईलाई समेत निरन्तरता दिदै जानुभयो । जसको फलस्वरुप उहाँले नर्सिङ्ग विषयमा स्नातक र स्नातकोत्तर सम्मको पढाईको शैक्षिक उपाधि हासिल गर्नुभयो। शैक्षिक योग्यता र कामका अनुभवका कारणले उहाँको पदोन्नती पनि हुँदैगयो र विर अस्पतालमा वरिष्ठ नर्सिङ्ग अधिकृतको रुपमा काम गर्दै आउनुभएको थियो ।
भनिन्छ एउटा पुरुष वा सिंगो परिवार सफल हुनका लागि त्यस घरकी महिलाको ठुलो हात रहेको हुन्छ। त्यही भनाईलाई चरितार्थ गर्दै उहाँले आफ्नो परिवारलाई पिलर बनेर ढाडस दिईरहनु भएको थियो। नाताले बुहारी भएपनि व्यवहारले आमा मान्ने उहाँकी सासुआमाको उदाहरणले पनि यो कुरालाई थप प्रमाणित गरेको छ ।
उहाँको परिवारमा श्रीमान पशुस्वास्थ्य तर्फका डाक्टर हुनुहुन्छ । एउटा सरकारी सेवाको अनुभवपछि हाल अन्तराष्ट्रिय गैरसरकारी संस्थामा राष्ट्रिय निर्देशकको भूमिकामा हुनुहुन्छ । शुभद्राको साथ, सहयोग,हौसला र प्रेरणाले आज एउटा अन्तराष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपाल मार्फत नेपाल भरिका ग्रामिण क्षेत्रका विपन्न महिला र युवाहरुको आर्थिक सामाजिक सशक्तिकरण मार्फत उनीहरूको आर्थिक र सामाजिक पूँजीको विकाससंगै सर्वाङ्गिण विकासमा योगदान दिदै आफ्नो पहिचान बनाउन डा.रेग्मीले सक्नु भएकोछ । त्यस्तै उहाँका २ सान्तानका रुपमा एक छोरा र एक छोरी छन्, दुवै जनाको विवाह भैसकेको छ । छोरा विभिन्न देशमा अध्ययन पुरा गरी नेपाल मै फर्केर परिवारसंगै केही गर्ने अभियानमा लागेका छन् भने छोरी अमेरिकामा मानव स्वास्थ्यमा स्नातकोत्तर गर्दै छन । अध्ययनको क्रममा छोरीज्वाइअमेरिकामा संगै रहनुहुन्छ ।
सुभद्रा परिवारका लागि एउटी बुहारी श्रीमती र आमा मात्र नभएर परिवार आफन्त ईष्टमित्र छरछिमेकीको सेवामा सधै खटिरहनु हुन्थ्यो । त्यति मात्र नभएर अन्जान नै किन नहोस विरामी र दुख परेकाहरुका लागि अस्पतालमा होस वा समुदायमा साक्षात देवी वनेर सेवा गर्न हरदम तत्पर रहुनु हुनुहुन्थ्यो । उहाँको निस्वार्थ सेवाको भावना समाजको लागि अनुकरणीय बनेको छ ।
मन,वचन र कर्मले मात्र नभएर आर्थिक हिसावले पनि अप्ठ्यारो परेकाहरुको उपचार सहयोगमा उहाँको सधै साथ रहन्थ्यो । यसो गर्नु उहाँको रुचि र गर्वको कुरा पनि थियो । यसले समाज समुदाय र राष्ट्रलाई नै महत्वपूर्ण योगदान पुर्याईरहेको थियो । यसरी सबैको देवी वनेर परिवार र पृथ्वीमा सेवा गरिरहेको सायद दैवले पनि देखिसहनेछ क्यारे, विगत लामो समयदेखि आफैले विभिन्न खालका विरामीको उपचार र सेवा गरेको अस्पतालमा आफ्नो सानो उपचार गराउने क्रममा मिति २०८१ भाद्र १३ गते उहाँको अकल्पनिय निधन भयो । हामी अरु सवैका लागि सामान्य लाग्ने उपचार थियो त्यो। त्यती धेरै जटिलता पनि नहुने भन्दै हास्दै एन्जिओ प्लाष्टि (Angioplasty) गर्न अपरेशन कक्षमा प्रवेश गर्नुभएको थियो । सुभद्रालाई हासो खुशी साथ बाहिर निस्केको हेर्ने प्रतीक्षामा रहनुहुने श्रीमान,छोराबुहारी लगायत हामीहरुको चाहनामा बज्रपात भएको छ भने भगवान र अस्पताल माथि गरिएको आशा र भरोसामा कुठाराघात भयो ।
यस दुखद निधनले रेग्मी परिवारको मियो ढलेको छ ,बुवाआमा हुँदाहुँदै सुभद्राका श्रीमान टुहुरो जस्तो हुनु परेको छ । छोरा छोरीका लागि यो सारा सृष्टि कालो, कैलाश श्रेणी, मोतिका ज्योती र सुर्यको विम्व पनि कालो भएको छ । यी सबै पिडा कुनै औषधीले निको पार्ने खालका जस्ता छैनन । हामी सबैका लागि अमिट घाउ बनेर यो दिन र त्यो घटना रहि नै रहनेछ ।
(भतिज बिष्णु रेग्मीको सहयोगमा विष्णु प्रसाद कँडेलले तयार पारेको सामाग्री)