काठमाडौँ । आगामी फूलपाती अर्थात् असोज २४ गते तीन फिल्मले रिलिज मिति तय गरेका छन् ।
‘ज्वाइँ साब’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ गरी तीन फिल्मले दसैँकै अवसरमा प्रदर्शनको साइत जुराएका छन् ।
यीमध्ये पनि ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’मार्फत दिपकराज गिरी र जीतु नेपाल आपसमा भिड्दै छन् । ‘ज्वाइँ साब’मा जीतु नेपालको मूख्य भुमिका छ भने ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी मुख्य भूमिकामा छन् ।
फूलपातीमा प्रदर्शन हुने तीनै फिल्ममा चलेका कलाकार छन् । यी फिल्म अनुभवी निर्देशकले बनाएका हुन् । असोजमा प्रदर्शन हुन लागेका सात फिल्ममध्ये ‘सानो संसार’लाई छोड्ने हो भने सबै फिल्म चलेका कलाकारले भरिएका छन् ।
दसैँमा लामो समय सार्वजनिक बिदा हुने र मानिस फुर्सदमा हुने भएकाले यो बेला निर्माताहरू दर्शकको साथ पाउने अपेक्षाले फिल्म प्रदर्शन गर्न हौसिने गर्दछन् । त्यसैले पनि दसैँकै समय अर्थात् असोज तेस्रो साता एक साथ तीन नेपाली फिल्म आपसमा भिड्न लागेका हुन् ।
असोजको पहिलो र दोस्रो साता एक–एक फिल्म प्रदर्शन हुँदा तेस्रो साता दुई र चौथो साता तीन फिल्म प्रदर्शनको तयारीमा छन् ।