काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो ।
यसैगरी नेपाल बैङ्क लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषदबाट एक करोड, एनएमबी बैङ्कबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुनेक्रम जारी रहेको छ ।