काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्न लागेको हो ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।
रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिसोधमा पक्राउ गरेको आरोप लगाउदै आएपनि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो ।
अदालतले छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासमेत रहेका पहराईले पूरक जाहेरी दिएका थिए ।
सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु शेयर सदस्य सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएको पक्राउ आदेशमा उल्लेख छ ।