स्याङ्जा । सुत्केरी आमालाई पोषिलो खाना कार्यक्रम अन्तर्गत स्याङ्जामा ७ सय ४८ सुत्केरी लाभान्वित भएका छन् । जिल्ला भित्र तथा जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट सुत्केरी भएका आमालाई पोषिलो खाना कार्यक्रम अन्तर्गत जनही रु.नौ हजार उपलब्ध गराइएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताए ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अतिविपन्न, दलित, अपाङ्ग र लोपोन्मुख समुदायका सुत्केरी आमा र बच्चा कुपोषणको जोखिम कम गर्न उक्त कार्यक्रम संचालनमा ल्याएको हो । आमा तथा बालबालिकाको पोषण सुधार गर्न सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण उपलब्ध गराई उनीहरुको पोषण अवस्थामा सुधार गरी स्वास्थ्य अवस्था सुदृढ गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको मन्त्रालयले जनाएको छ ।
भुक्तानीका लागी सम्बन्धित वडा कार्यालयबाट लक्षित वर्ग अन्तर्गत पर्ने भनी गरिएको सिफारिस, व्यक्तिको परिचय खुल्ने कागजात, जन्म प्रमाणपत्र, सुत्केरी महिलाका नाममा खोलिएको बैंक खाताको चेकको प्रतिलिपि आवश्यक पर्ने शर्माले जानकारी दिए । कार्यक्रम सञ्चालन गर्न मन्त्रालयबाट स्याङ्जामा रु.९५ लाख रकम विनियोजन गरिएको थियो ।