काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरि कारवाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरि केहि ऐन र नियमावलीमा सुधार गर्ने जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्था अनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्नेमा जोड दिनुभयो ।
हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्न इन्जिनियरको भूमिका अपरिहार्य उहाँको भनाइ छ ।
विकासका लागि सरकारसँग स्रोत कम रहेकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजश्व तथा लगानी बढ्ने र आर्थिक अवस्थामा सुधार ल्याउन आफ लागि परेको धारणा राख्नुभयो ।