गुल्मी । गुल्मीमा आगामी बिहिबारदेखि सुरु हुने एसइई परीक्षामा चार हजार ९ सय विधार्थी सहभागी हुने भएका छन ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गुल्मीले दिएको जानकारी अनुसार यसवर्ष गुल्मी जिल्लाबाट एसइई परीक्षामा सहभागी हुने विधार्थीको संख्या चार हजार ८ सय ७५ जना रहेको छ।
यस वर्ष साधारणतर्फ तीन हजार ५ सय २६, प्राविधिक तर्फ २ सय ६० जना नियमित परीक्षामा सहभागी हुने छन भने ग्रेडवृद्धिमा साधारण तर्फ ९ सय ९३ र प्राविधक धारतर्फ ७२ जना विधार्थी सहभागी हुने परीक्षा शाखाका प्रमुख राधिका पन्थीले बताइन् ।
गुल्मी जिल्लाबाट एसइई दिने विधार्थीको संख्या विगत तीन वर्षदेखि लगातार घट्दै गएकोमा २०८१ अर्थात यसवर्ष भने परीक्षामा सहभागी हुने विधार्थीको संख्या वृद्धि भएको कार्यालयले जनाएको छ । लगातर तीन वर्ष ओरालो लागेको एसइई दिने विद्यार्थीको संख्यामा केहि सुधार भएको हो।
गतवर्ष साधारण तर्फ तीन हजार ७ सय ९०, प्राविधिकतर्फ २ सय ९५ जना र ग्रेडवृद्धि तर्फ १२ जना गरी चार हजार ९७ सहभागी भएका थिए ।
परीक्षा शाखा प्रमुख पन्थीका अनुसार २०७८ सालमा चार हजार ८ सय २३, २०७९ मा चार हजार ७ सय २२ र २०८० सालमा चार हजार ९७ जना विद्यार्थी एसइइ परीक्षामा सहभागी भएका थिए ।
एसइई परीक्षामा संख्यात्मक रुपमा यसवर्ष वृद्धि भएको देखिएपनि नियमिततर्फ विद्यार्थीहरुको संख्या कम हुँदै गएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय गुल्मीका प्रमुख थानेश्वर घिमिरेले बताए ।
यस वर्ष ग्रेड वृद्धिका विद्यार्थीहरु बढी भएका कारण संख्या बढेको देखिएको उनको भनाइ छ ।
यस वर्ष गुल्मीमा एसइइका लागि २६ वटा परीक्षा केन्द्र निर्धारण गरि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको र केन्द्रका केन्द्राध्यक्षलाई तालिम प्रदान दिई सम्बन्धित परीक्षा केन्द्रमा पठाइएको प्रमुख घिमिरेले बताए ।
परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका र प्रश्नपत्र केन्द्रको नजिक रहेको प्रहरी चौकीमा पुगिसकेको समेत उनले बताए ।
परीक्षालाई प्रभावकारी एवं मर्यादित गराउन नियमित अनुगमन गर्ने गरी योजना बनाएको र सुरक्षाका लागि २ सय ६० जना सुरक्षाकर्मी खटिने र आवश्यकताको आधारमा संख्या थप पनि हुन सक्ने घिमिरेले बताए ।