गुल्मी । चेम्बर अफ कमर्स गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा दोस्रो गुल्मी महोत्सव संचालन हुने भएको छ ।
गुल्मी चेम्बर अफ कमर्सले सोमबार तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरि यहि चैत २९ गतेदेखि २०८२ वैशाख १३ गतेसम्म दोस्रो गुल्मी महोत्सव गर्ने जनाएको हो ।
'गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार' भन्ने मुख्य नारासहित रेसुङ्गा नगरपालिकाको वडा नम्बर २ नुनथलामा उक्त महोत्सव गर्न लागिएको अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै चेम्बर कमर्स गुल्मीका अध्यक्ष पाण्डेले दोस्रो गुल्मी महोत्सव-२०८१ तथा कृषि पर्यटन व्यापार एवं औद्योगिक मेला गर्न लागिएको बताए ।
विभिन्न कारणले आर्थिक चहलपहलमा सुस्तता आइरहेको वर्तमान अवस्थामा आर्थिक कारोवारलाई चलायमान बनाउन चैत २९ गतेदेखि २०८२ वैशाख १३ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको उनले बताए ।
महोत्सवबाट जिल्लाको आर्थिक कारोबार चलायमान बनाउन र स्थानीय उत्पादनको प्रचारप्रसारसंगै ब्यापार प्रवर्द्धनमा महोत्सव फलदायी हुने गुल्मी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र भुसालले बताए ।
उनले स्थानीय उत्पादनलाई निशुल्क स्टल उपलब्ध गराइनुका साथै स्थानीय कलासंस्कृतिलाई समेत विशेष प्राथमिकता दिइने बताए ।
महोत्सवलाई सफल, व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न १७ वटा उपसमिति गठन गर्ने काम अघि बढाइएको संस्थाका सचिव सूर्य घिमिरेले बताए ।
महोत्सव अवलोकनका लागि आयोजकले टिकट १०० रुपियाँ निर्धारण गरेको छ भने ७० वर्ष भन्दा माथि, बालबालिका र अशक्त व्यक्तिका लागि निशुल्क प्रवेश र विद्यार्थीको हकमा परिचयपत्रको आधारमा टिकटको ५० प्रतिशत छुट प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
गुल्मी चेम्बर अफ कमर्सले आयोजना गरेको महोत्सवबाट संकलित आम्दानीलाई विभिन्न सदरमुकाम तथा अन्य स्थानमा आवश्यकताको आधारमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्ने अध्यक्ष पाण्डेले पत्रकार सम्मेलनमा बताए ।