काठमाडौं । देशभरि अहिले देखा परिरहेको एउटा चिन्ताजनक प्रवृत्ति– एकै व्यक्तिले विविध प्रकारका जिम्मेवारी सम्हाल्दै सञ्चार माध्यम सञ्चालनमा लाग्ने क्रम बढ्दो छ । नागरिक समाजको अगुवा, सहकारी संस्थाको अध्यक्ष, आपतकालीन उद्धार संस्थाको सञ्चालक, सरकारी ठेक्कापट्टाको व्यापारी तथा ठेकेदार र फेरि स्थानीय तहको निर्वाचित जनप्रतिनिधि हुँदै राजनीतिमा समेत संलग्न भई अन्ततः सञ्चार संस्था सञ्चालन गर्नुले सञ्चार माध्यमको निष्पक्षता, नैतिकता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरिरहेको छ ।
जब एउटै व्यक्ति जनप्रतिनिधि, सहकारी सञ्चालक, ठेकेदार, बिचौलिया र मिडिया मालिक पनि हुन्छन् भने त्यसले स्पष्ट रूपमा हितको द्वन्द्व (conflict of interest) जन्माउँछ। सूचना सम्प्रेषण गर्ने माध्यम स्वार्थपूर्ति गर्ने अस्त्रमा परिणत हुँदा सञ्चारजगतले धारण गर्नुपर्ने तटस्थता समाप्त हुन्छ ।
सञ्चार क्षेत्र भित्र यस्ता बहुपहिचान बोकेका व्यक्तिहरूका कारण आज मिडिया "ठगी प्रवृत्तिको ढाल" जस्तो देखिन थालेको छ । सहकारी अपचलन, ठेक्का प्रक्रियामा अनियमितता, आपतकालीन सहयोगको नाममा चन्दा दुरुपयोग जस्ता गतिविधिमा संलग्न व्यक्ति जब पत्रकारिताको आवरणमा बस्छन्, तब उनीहरूले कानुनी कारबाही र सार्वजनिक आलोचनाबाट आफूलाई जोगाउन मिडियाको प्रयोग गर्छन् ।
यस्ता प्रवृत्तिलाई नियमन गर्न "एक व्यक्ति, एक जिम्मेवारी" को अवधारणा कार्यान्वयन गर्नु अत्यावश्यक देखिन्छ। सञ्चारजस्तो संवेदनशील क्षेत्रमा कार्यरत व्यक्तिहरूले अन्य व्यवसायिक, राजनीतिक, ठेकेदारी वा सहकारी गतिविधिबाट अलग हुनुपर्छ भन्ने आवाज पनि उठिरहेका छन् ।
सञ्चार बिभाग, सहकारी विभाग, अख्तियार लगायतका नियामक निकायहरू यस्ता बहुपहिचानी व्यक्तिहरूको गतिविधिमाथि मौन बस्दा नत पत्रकारिता सुरक्षित रहन्छ, न सहकारी प्रणाली । आम नागरिकको विश्वास गुमाउँदै गइरहेको वर्तमान परिवेशमा यी निकायहरू तुरुन्त सचेत हुन जरुरी छ ।
यदि यस्ता गतिविधिहरू समयमै नियन्त्रण गरिएनन् भने सत्य बोल्ने, तथ्य उजागर गर्ने र सामाजिक न्यायका पक्षमा कलम चलाउने पत्रकारहरूको पहिचान मेटिन सक्छ । मिडिया घराना नै शंकात्मक घेरामा पर्न सक्छन् ।
"एक व्यक्ति, एक पहिचान" — यही सिद्धान्त अबको नीति बन्नु पर्छ । पत्रकार, नेता, सहकारी सञ्चालक, ठेकेदार वा समाजसेवी — कुनै पनि क्षेत्रको मर्यादा कायम राख्न, ती क्षेत्रहरूलाई पृथक र स्वच्छ राख्नु आजको अत्यावश्यक कार्य हो । पत्रकारिता क्षेत्रलाई बदनाम हुनबाट जोगाउन आम सरोकारवालाहरू, नीति निर्माताहरू र जनताले एक आवाजमा बोल्नु आवश्यक छ ।
( लेखक प्रकाश के.सी चेतना न्यूज डट कमका पूर्व सम्पादक तथा उपप्राध्यापक हुनुहुन्छ )