काठमाडौं । लोकप्रिय गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै भाँचेर’ सार्वजनिक गरिएको छ। आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीत डान्सिङ शैलीमा आधारित छ, जसले खुसी, उमंग र स्वतन्त्रताका भावनालाई उजागर गर्छ ।
जीवनलाई हास्दै, नाच्दै र रमाउँदै बिताउनुपर्छ भन्ने सन्देश दिने गीतले सकारात्मक जीवन दृष्टिकोण प्रस्तुत गर्छ । मनका रहरलाई दबाएर होइन, पूरा गरेर बाँच्नुपर्ने सन्देश गीतमा समेटिएको छ । साथै, साथीसंगीहरूसँग हाँसीखुसी बोल्न र दुःखलाई भुलेर हाँस्न प्रेरणा दिने गीतले उमेरभन्दा भावनालाई प्राथमिकता दिएको सन्देश दिन खोजेको छ ।
गीतको भिडियो पनि निकै आकर्षक र स्तरीय बनेको छ । बोल्ड नृत्यका साथ भिडियोमा नृत्याङ्गना आस्मा विश्वकर्मा फिचर भएकी छन् भने रोशन बिकले कोरियोग्राफी गरेका छन् । ठूलो संख्यामा कोरस प्रयोग गरेर तयार पारिएको भिडियोलाई निर्देशक शान थापाले निर्देशन गरेका हुन् ।
गायिका आस्था राउतका अनुसार, “गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ। हामीले कुनै पनि कुरामा सम्झौता गरेका छैनौं।” उनले थप भनिन्, “यो गीत सदाबहार हो, तर तीजमा पनि कम्मर मर्काएर नाच्न मिल्ने रमाइलो नम्बर बनेको छ ।”
गीतले विशेषगरी महिलालाई खुलेर बाँच्न, आफूले चाहेको जीवन जिउन र खुसी हुन प्रेरित गर्ने सन्देश दिएको आस्थाले उल्लेख गरेकी छन् ।