काठमाडौं । नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर सुरु गरिएको छायांकन ३६ औं दिनमा पुगेर अन्त्य गरिएको हो ।
निर्माता अञ्जान केसीका अनुसार पोखरा र वरपरका रमणीय स्थानहरूमा चलचित्रका दृश्यहरू र गीतहरू खिचिएका छन् । “हामीले कुनै बाधा र अवरोध विना छायांकन सक्यौँ, अब पोस्ट-प्रोडक्सनमा तीव्रता दिन्छौँ,” उनले जानकारी दिए ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको छ। यो उनको पहिलो निर्देशकीय चलचित्र हो ।
‘शिवांश : च्याप्टर–१’ मा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने लगायत विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, टिका निरौला लगायत कलाकारको अभिनय रहेको छ। कथा निर्माता अञ्जान केसीले आफैँ लेखेका हुन् भने पटकथा बारत लिम्बूको रहेको छ ।
चलचित्रमा सरद महतोको छायांकन, विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत, न्ह्यू बज्राचार्य र राजनराजको संगीत, तथा समीक्षा अधिकारी, मिलन नेवार र राजनराजको स्वर रहेको छ ।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, नृत्य निर्देशन विक्रम चोहान, भीएफएक्स निर्देशन विराज खड्का र सुपरभाइजर आदेश सुब्बा रहेका छन् । चलचित्रको पोस्ट-प्रोडक्सन चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (DCN) ले लिनेछ ।