काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन काठमाडौंको तीनकुनेमा सुरु भएको छ। विसं २०३० र ४० को काठमाडौं झल्काउने भब्य सेट निर्माण गरेर छायांकन थालिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् । सो समयमा काठमाडौंमा रहेका सेता, पुराना घरहरू, सडकमा देखिने नेवार समुदायका व्यापार शैली, तथा त्यतिबेलाको पहिरन र सवारीसाधनलाई यथासम्भव मिल्दोजुल्दो ढंगले देखाउने प्रयास गरिएको छ ।
निर्देशक खनालका अनुसार, “चिट गरेजस्तो नदेखिने गरी काम गरिएको छ र त्यस समयको वातावरण प्रस्तुत गर्न कष्ट्युम डिजाइनदेखि रंग संयोजनसम्ममा विशेष ध्यान दिइएको छ।” चलचित्रको छायांकन गत शनिबार, श्रावण १० गतेदेखि सुरु भइसकेको हो । काठमाडौँसँगै काभ्रेको धुमखर्क, बेथानचोक, चितवन र वीरगञ्जमा पनि छायांकन गरिने बताइएको छ ।
क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित बायोपिक रहेको यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा रहेका छन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रका निर्माता दीपेन्द्र खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने सिर्जना नापित कार्यकारी निर्माताका रूपमा रहेका छन् । चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरिरहेका छन् ।
यस प्रोजेक्टमा सौगात बस्नेत मुख्य सहायक निर्देशक छन् भने पोस्टर र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले, प्रोडक्सन डिजाइर एकी थेक्पाले, र प्रोडक्सन म्यानेजर रोहित राज गौतम र बिष्णु बुढाथोकीले सम्हालिरहेका छन् ।