Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुभद्रा रेग्मी : सेवामयी जीवनको स्मरणमा


६, भदौ २०८२
  • 1,610
    SHARES
  • सुभद्रा रेग्मी : सेवामयी जीवनको स्मरणमा

    जीवन रहस्यमय यात्रा हो, कहिले फूलले भरिएको, कहिले काँडाले । तर कसैले आफ्नो जीवन अरूका लागि उज्यालो बनाइदिन सके भने त्यो जीवन सधैं स्मरणीय हुन्छ । स्व. सुभद्रा रेग्मी यस्तै एक अनुकरणीय व्यक्तित्व हुनुहुनथ्यो । उहाँले आफ्ना प्रत्येक दिन र प्रत्येक श्वासलाई सेवा, करुणा र ममताको उपहार बनाएर समाजलाई अर्पण गर्नुभयो ।

    २०८१ साल भदौ १३ गते अचानक नियतिको कठोर क्षण आयो र उहाँले संसारलाई बिदा गर्नुभयो। परिवार मात्र होइन, उहाँलाई चिन्नेलाई लाग्यो—जसले असंख्यलाई आशा र सहारा दिनुभएको थियो, आज त्यही सहारा हरायो ।

    डा. तिर्थराज रेग्मीकाे जीवनसाथी, अभिषेक र अर्चनाको ममतामयी आमा, बुहारी कविता र ज्वाइँ विशालका मार्गदर्शिका—यी पारिवारिक परिचय मात्र हुन् । वास्तविकतामा उहाँ असंख्य बिरामी र निराश आत्माका लागि ‘ममतामयी आमा’ हुनुहुन्थ्यो। उहाँको मुस्कान, उपस्थिती र करुण स्पर्शले थकित आत्मामा साहस भर्ने शक्ति राख्थ्यो ।

    घरमा उहाँ धुरी जस्तै हुनुहुन्थ्यो, समाजमा उहाँ प्रेरणाको उज्यालो बन्नुभयो, जसको उदाहरणले असंख्य जनले सेवा र समर्पणको बाटो रोज्न प्रोत्साहन पाए ।

    दुई दशकभन्दा बढी वीर अस्पतालमा वरिष्ठ नर्सिङ अफिसरको रूपमा काम गर्दा उहाँले हजारौं बिरामीलाई केवल औषधि मात्र होइन, मनोबल पनि दिनुभयो । औषधिले मात्र निको नहुने घाउलाई उहाँले करुणा र सहानुभूति मिसाएर निको पार्नुहुन्थ्यो। उहाँका लागि सेतो कोट केवल पेशागत पहिरन थिएन, त्यो मानवता र मातृत्व मिसिएको सेवाको प्रतीक थियो ।

    सेवानिवृत्त हुने समय नजिकिँदै गर्दा पनि उहाँको सोच भने सामाजिक सेवालाई निरन्तरता दिने थियो। असहायलाई सहयोग गर्ने, विपन्नलाई हातेमालो गर्ने, बिरामीलाई हौसला दिने—यी नै उहाँको जीवनका आधार थिए। तर बाँकी योजना नियतिको कठोरतामा अधुरै रह्यो ।

    हाम्रो पारिवारिक सम्बन्धले उहाँलाई अझ नजिकको बनाएको थियो। कान्छो छोराको विवाह भोजमा उहाँको उपस्थिती अझै आँखाअघि ताजै छ । उहाँको मिठो मुस्कान, हर्षित मुहार र दिइएको आशीर्वाद सम्झँदा लाग्छ—सायद त्यो भोज नै उहाँको जीवनको अन्तिम उत्सव थियो। त्यो दिन उहाँले सबैलाई माया र आशीर्वादको अमूल्य सम्पत्ति बाँडेर गइहाल्नुभयो ।

    सुभद्राजी उदारता र सहृदयताको प्रतिमूर्ति हुनुहुन्थ्यो । कसैलाई औषधि किन्न पैसा नपुग्दा उहाँकै ढोका ढकढक्याइन्थ्यो, कसैलाई उपचार खर्च जुटाउन नसक्दा उहाँकै हात अगाडि बढ्थ्यो। उहाँका लागि सेवा धर्म मात्र होइन, गर्व र आनन्द थियो । उहाँलाई भेटेका मानिसहरू आजसम्म सम्झन्छन्—कसरी उहाँले सहानुभूति मात्र होइन, आचरण र कर्मद्वारा पनि साँचो सहारा दिनुभयो ।

    तर जीवन कहिलेकाहीँ कठोर परीक्षा लिएर आउँछ । सामान्य उपचारको क्रममा उहाँले आफ्नै अस्पतालमा अपरेशन गर्न विश्वास गर्नुभयो। श्रीमान “बाहिर देशमा गएर उपचार गरौँ” भन्नुभए पनि उहाँको विश्वास आफ्नै अस्पतालप्रति अटुट थियो। दुर्भाग्यवश, त्यो विश्वास नियतिको कठोर परीक्षामा परिणत भयो। हाम्रो अगाडिनै हाँस्दै अपरेशन थिएटरमा प्रवेश गर्नुभएकी उहाँ चिर निद्रामा जानुभयो ।

    उहाँलाई बिदा गरेको पनि एक वर्ष पूरा भएको छ । समयको नदी बगिरहेको छ, तर अभावको खालीपन अझै गहिरिँदै छ । पति एक्लोपनको पीडा बोकेर बाँचिरहनुभएको छ । छोरा–छोरी आमाविना अधुरोपन महसुस गर्दैछन् । आफन्त, नातेदार र छिमेकीले समाजकी सेवामयी माता गुमाएको पीडा मनमा बोकेर जीवन बिताइरहेका छन् ।

    तर मृत्यु केवल शरीरलाई मात्र लिन्छ, आत्मा र कर्मलाई होइन। उहाँले परिवारमा छोडेको ममताको छायाँ, समाजमा जगाएको सेवाको बाटो र भविष्यका पुस्तामा रोपेको प्रेरणाको बीज सदैव हरियो रहनेछ ।

    सुभद्राजीको जीवन दीपझैँ उज्यालो थियो, जसले अनगिन्ती आत्मालाई प्रकाश दिएको छ । उहाँको योगदान तीर्थजस्तै पवित्र थियो, जसले हजारौंलाई सेवा र करुणाको बाटोमा डोर्यायो। उहाँका विचार गीताजस्तै शाश्वत छन्, जसले निरन्तर नयाँ पुस्तालाई प्रेरणा दिइरहनेछ ।

    उहाँको प्रथम पुण्यतिथि(भदौ ३ गते)को अवसरमा हामी सबै नतमस्तक भएर श्रद्धाञ्जली अर्पण गरेकाछौं। भगवानले उहाँको आत्मालाई शाश्वत शान्ति प्रदान गरून् र परिवारलाई यो पीडाभन्दा माथि उठ्ने धैर्य, शक्ति र प्रेरणा दिऊन् ।

    स्व. सुभद्रा रेग्मी, तपाईं अब शारीरिक रूपमा हाम्रो बीचमा हुनुहुन्न, तर तपाईंको उज्यालो, तपाईंको सेवा, तपाईंको माया र तपाईंको प्रेरणा समाजको हरेक कुनामा बाँचिरहेको छ ।

    "लेखक राम कुमार क्षेत्री रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ।"

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend