काठमाडौं । चलचित्र ‘रोल नं १’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा छ ।
आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले योजना भत्किँदाको निराशा प्रस्तुत छ । पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई टिजरले समेटेको छ ।
छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो थथार्थलाई टिजरले व्यंग्य गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । ‘रोल नं १’ले जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदै छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । सिनेमामा डीओपी शिवराम श्रेष्ठको छ ।
