पाल्पा । नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ मा “जरा अभियान तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम” सुरु गर्दै संगठन सुदृढीकरणलाई तीव्रता दिएको छ । आइतबारबाट शुरु अभियानको मुख्य उद्देश्य पार्टीलाई जरोदेखि मजबुत बनाउनु, सदस्यता व्यवस्थापनलाई व्यवस्थित गर्नु तथा आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तयारीलाई सुदृढ बनाउनु रहेको छ ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले संगठनलाई प्रभावकारी रूपमा अगाडि बढाउन निरन्तर अन्तरक्रिया, छलफल र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य-मान्यतालाई व्यवहारमा उतार्न राष्ट्रियता सुदृढीकरण, विधिको शासन र नागरिक सर्वोच्चताको सुनिश्चितता अनिवार्य रहेको उल्लेख गर्दै वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न सबै नेता-कार्यकर्तालाई सक्रिय हुन आह्वान गर्नुभयो ।
केन्द्रीय प्रतिनिधि निर्मला क्षेत्रीले पार्टी रूपान्तरणको आधार नै जनविश्वास भएको स्पष्ट पार्दै जनताको भरोसा बिना कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने बताउनुभयो । उहाँका अनुसार जरा अभियानले युवा, महिला र आम नागरिकलाई पार्टीसँग जोड्ने महत्वपूर्ण अवसर सिर्जना गरेको छ । साथै, अभियानलाई केवल सदस्यता अद्यावधिकमा सीमित नराखी जनताका वास्तविक समस्या पहिचान र समाधानतर्फ केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रीय प्रतिनिधि हरि न्यौपाने र महासमिति सदस्य रमणबहादुर थापाले अभियानलाई संगठन विस्तार र सुदृढीकरणको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै आन्तरिक कमजोरी सुधार, अनुशासनको कडाइका साथ कार्यान्वयन र पार्टीभित्र एकता मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । क्षेत्रीय सभापति झमनराज मगरले जरा अभियानलाई संगठन सुदृढीकरणको आधारशिला भएको उल्लेख गर्दै तल्लो तहसम्म पार्टी संरचना बलियो बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा क्षेत्र नं. १ (क) का सभापति रामबहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सन्तोषकुमार थापा मगरले अभियानले संगठनात्मक एकता, सक्रियता र जनसम्पर्कलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
क्षेत्रीय सभापति झमनराज मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा स्थानीय तहका नेता-कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहसचिव मधु पराजुलीले गर्नुभएको थियो ।
सहभागीहरूले जरा अभियानलाई औपचारिक कार्यक्रमभन्दा माथि उठाएर संगठनको दीर्घकालीन सुदृढीकरणको आधारका रूपमा लिनुपर्नेमा जोड दिएका छन् । अभियानमार्फत कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार हुने, जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार हुने तथा पार्टीप्रति विश्वास र सक्रियता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।