अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाले राष्ट्रसेवक कर्मचारी तथा शिक्षकहरुले सार्वजनिक पदमा बसेर राजनिती गरेको पाईएमा कर्मचारीको पदमा नबस्न सुझाउँदै, अन्यथा राजनीति गरेको फेला परेमा कारबाही गर्ने चेतावनी दिएको छ। पालिकाले जनताका सेवाप्रवाह हुने ठाउँमा बसेर कर्मचारीहरुले राजनितिक दलको खोल ओढ्ने र भातृ संस्थामा आबद्ध हुने गरेको फेला परेको भन्दै गाउँपालिकाले एक सुचना जारी गर्दै कारवाही गर्ने चेतावनी दिएको हो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालद्धारा हस्ताक्षरित जारी सुचनामा भनिएको छ, कर्मचारी पद वा राजनितिक पद मध्ये एक पद त्याग गर्न र सबै कर्मचारीहरुको अभिलेख जम्मा गरिसकिएकाले ‘कि जागिर छोड्नु पर्ने कि राजनितीक पद छोड्नुपर्ने उल्लेख गरिएको छ ।
यही जेठ ७ गते भित्र उनले दुई मध्ये कुनै एक पद त्यागेको निवेदन गाउँपालिका कार्यालयमा बुझाउन आग्रह गरिएको छ। यद्यपी अटेरी गरेको पाईएमा पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रियालाई अगाडि बढाईनुको साथै नियमानुसारको कारवाही गर्ने जनाईएको छ।