कपिलवस्तु l नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल सदस्यता अद्यावधिक अभियानले पार्टीलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी तथा संगठनात्मक रूपमा अझ सुदृढ बनाउने बताएका छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिद्वारा कपिलवस्तुको चन्द्रौटास्थित सिद्धार्थ ग्रीन रिसोर्टमा बुधबार आयोजित डिजिटल सदस्यता अद्यावधिक सम्बन्धी एकदिवसीय प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिवेशमा पार्टी सञ्चालनका लागि डिजिटल प्रणाली अपरिहार्य बनेको उल्लेख गरे ।
महामन्त्री पौडेलले अबको कांग्रेस केवल परम्परागत शैलीमा सीमित नरहने भन्दै प्रत्येक कार्यकर्ताको सक्रियता, योगदान र अभिलेखलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताए ।
उनले डिजिटल सदस्यता अभियानले पार्टीभित्र सुशासन, पारदर्शिता र वास्तविक कार्यकर्ताको पहिचान सुनिश्चित गर्ने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई अझ संगठित, व्यवस्थित र बलियो बनाउन यो अभियान कोसेढुङ्गा सावित हुने धारणा राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठको अध्यक्षता रहेको थियो भने केन्द्रीय सदस्य कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायत नेता कार्यकर्ता रहेको थियो।
उक्त कार्यक्रममा सभापति पुनले संगठन निर्माणमा प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनीहरूले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापन र अभिलेखीकरणलाई प्रभावकारी बनाउँदै पार्टीलाई समयानुकूल रूपान्तरण गर्न आवश्यक रहेकोमा जोड दिए ।

सहमहामन्त्री विष्णु प्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका पदाधिकारी, ‘जरा अभियान’ अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिधि, ५२ वटै प्रदेशसभा क्षेत्रका डिजिटल सदस्यता अभियान प्रतिनिधि, क्षेत्रीय सभापतिहरू तथा प्रविधि सम्बन्धी जानकार एवं विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रशिक्षणका क्रममा सहभागीहरूलाई डिजिटल प्रणालीमार्फत सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापन प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसले पार्टी संगठनको डिजिटल रूपान्तरण, सदस्यता व्यवस्थापन तथा एकीकृत अभिलेखीकरण कार्यलाई प्रभावकारी, पारदर्शी र समयबद्ध बनाउन देशव्यापी रूपमा डिजिटल सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

