काठमाडौं । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा छनोट भई इतिहास रच्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक गरिएको छ। अविनाश विक्रम शाहको लेखन तथा निर्देशन रहेको यस चलचित्रले जंगली हात्तीको आतंक र त्यसबीच हराएको सन्तान खोज्न संघर्षरत एक आमाको मार्मिक कथालाई प्रस्तुत गरेको छ। ट्रेलरमा अल्पसंख्यक समुदायको पीडा, प्रहरी प्रशासनको भूमिका र गाउँलेको त्रासलाई जीवन्त रूपमा देखाइएको छ।
पुष्पा थिङ, गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी र सन्जय गुप्ता लगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रमा नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माताहरूको सहकार्य रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीमा निर्मित यो सिनेमाले नेपाली मौलिक कथालाई विश्व मञ्चमा पुर्याउने अपेक्षा गरिएको छ।