काठमाडौँ । नेपाली सेनाले आफ्नो सैन्य कला र विशिष्ट विधालाई युवा पुस्तामाझ लोकप्रिय सङ्गीतको माध्यमबाट प्रस्तुत गर्ने नयाँ प्रयोग गरेको छ। सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत विशेष लडाकु दस्ता ‘रेन्जर’ को शौर्य, तालिम र बलिदानमा आधारित एक विशेष र्याप गीत सार्वजनिक गरेको हो।
प्रताप मगरको शब्द रचना तथा बासुदेव धिमालको उत्कृष्ट निर्देशनमा तयार पारिएको यो आधुनिक र्याप गीतले डिजिटल प्लेटफर्ममा सार्वजनिक भएको छोटो समयमै हजारौँ भ्युज बटुल्दै दर्शकमाझ तीव्र चर्चा कमाउन सफल भएको छ। सेनाको परम्परागत छविभन्दा फरक र डिजिटल पुस्तालाई आकर्षित गर्ने गरी निर्माण गरिएको भिडियोमा रेन्जर कमाण्डोहरूको कडा तालिम, साहस र युद्धकौशललाई दृश्यमार्फत जीवन्त रूपमा उतारिएको छ, जसले गर्दा यो गीत सामाजिक सञ्जालमा समेत निकै भाइरल भइरहेको छ।