काठमाडौं । लुम्बिनी प्रदेश सभा मा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनको तेस्रो बैठकमा प्रदेशसभा सदस्यहरूले सामाजिक न्याय, स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादन, रोजगारी सिर्जना तथा उद्यम विकासलाई बजेटको मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
सदस्यहरूले सरकारले प्रस्तुत गरेका सिद्धान्त तथा प्राथमिकतामा समावेश विषय सकारात्मक भए पनि ती प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
छलफलका क्रममा बजेट कार्यान्वयन प्रणालीलाई बलियो बनाउनुपर्ने, वित्तीय अनुशासन कायम गर्नुपर्ने तथा खर्च प्रणालीलाई पारदर्शी र नतिजामुखी बनाउन आवश्यक रहेको धारणा राखिएको थियो ।
प्रदेशसभा सदस्यहरूले असारे विकास तथा आर्थिक वर्षको अन्त्यतिर हतारमा बजेट खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा विशेष जोड दिएका छन् । योजनाबद्ध, आवश्यकता आधारित र जनमुखी बजेटमार्फत विकास निर्माणका काम समयमै सम्पन्न हुने वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ ।
छलफलमा भोज प्रसाद श्रेष्ठ, भगवती अधिकारी, भुवनेश्वर चौधरी, तारा थापा, डिल्लीराज भुसाल लगायत १० जना प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
बैठकको शून्य समयमा दिल कुमारी बुढा, माया पुन, कृष्णाकुश्मा थारु र यमुना रोक्का तामाङ ले समसामयिक विषयमा धारणा राखेका थिए ।
प्रदेश सभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्ने तय गरिएको छ ।