इमरान खानको रिपोर्ट, जनकपुरधाम l मधेस प्रदेशसभामा शुक्रबार भएको विश्वासको मतसम्बन्धी छलफलका क्रममा सांसद बिमला अन्सारीले दिएको मन्तव्यले सदनमा विशेष ध्यान आकर्षित गरेको छ। भावुक, स्पष्ट र दमदार शैलीमा प्रस्तुत उनको अभिव्यक्तिले राजनीतिकसँगै सामाजिक बहसलाई समेत तीव्र बनाएको छ।
सदनमा बोल्दै अन्सारीले राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई जनताको अधिकार, सम्मान र भविष्य निर्माण गर्ने जिम्मेवारी भएको बताइन्। उनले भनिन्,“राजनीति केवल सत्ता प्राप्तिको माध्यम होइन, यो जनताको अधिकार, सम्मान र भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो।”
अन्सारीले देश लामो समयदेखि राजनीतिक अस्थिरता, सत्ता संघर्ष र स्वार्थकेन्द्रित प्रवृत्तिको चपेटामा परेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक व्यवस्थाको वास्तविक लाभ अझै आम जनतासम्म पुग्न नसकेको धारणा राखिन्।
सीमान्तकृत समुदायका मुद्दा उठान सांसद अन्सारीले दलित, मुस्लिम, निषाद, थारु, आदिवासी जनजाति तथा पिछडा वर्ग अझै पनि राज्यको मूलधारबाट पछाडि रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।.उनले भनिन्,“धेरै नीति बने, धेरै भाषण भए, तर व्यवहारमा परिवर्तन अझै देखिएको छैन।”
उनका अनुसार निषाद समुदायको परम्परागत पेशा संकटमा परेको छ भने थारु समुदाय भूमि र शिक्षाको पहुँचबाट अझै वञ्चित छ। साथै, दलित समुदायमाथिको विभेद पूर्ण रूपमा अन्त्य हुन नसकेको उनले उल्लेख गरिन्।
शिक्षा, अधिकार र समावेशीकरणको माग अन्सारीले मुस्लिम समुदायका लागि उर्दू विश्वविद्यालय स्थापना गर्नुपर्ने, मदरसा शिक्षा सुधारसम्बन्धी विधेयक ल्याउनुपर्ने तथा सीमान्तकृत समुदायका विद्यार्थीका लागि विशेष छात्रवृत्ति र रोजगारी कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिन्। त्यस्तै, उनले भूमि अधिकार, स्वास्थ्य, आवास र सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।
त्रिभुवन विश्वविद्यालयले बक्र ईदकै दिन परीक्षा राखेको विषयप्रति आपत्ति जनाउँदै उनले धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताइन्। परीक्षा तालिका पुनःनिर्धारण गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरिन्।
सरकारप्रति आलोचनात्मक धारणा राखे पनि अन्सारीले राजनीतिक स्थिरता, लोकतन्त्र र विकासका लागि वर्तमान सरकारलाई विश्वासको मत दिने घोषणा गरिन्।
उनको मन्तव्यले विश्वासको मतको बहसभन्दा बाहिर गएर उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकार, पहिचान र प्रतिनिधित्वको मुद्दालाई प्रदेशसभामा सशक्त रूपमा उठाएको विश्लेषण गरिएको छ।