काठमाडौँ । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा एक निरन्तर सिर्जनशील र सक्रिय नाम हो। पेशाले आइटी इन्जिनियर भए तापनि प्रवासको व्यस्त जीवन र समयको चापबीच उनले कला, साहित्य र संगीतप्रतिको आफ्नो अगाध प्रेमलाई सदैव जीवन्त राखेकी छिन्। रिमाका सिर्जनामा प्रेम, बिछोड, आत्मीयता र समाजमा सकारात्मक ऊर्जा फैलाउने पक्षहरू गहिराइका साथ अभिव्यक्त हुने गर्दछन्। उनका शब्दहरूलाई अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, पुष्पन प्रधान, राजेश पायल राई, रेवती राई तथा किरण गजमेर जस्ता नेपालका चर्चित र लोकप्रिय गायक-गायिकाहरूले स्वर दिइसकेका छन्। उनले आफ्ना सिर्जनाहरू 'रिमा श्रेष्ठ वर्ल्ड' नामक आधिकारिक युट्युब च्यानलमार्फत दर्शक तथा स्रोतामाझ सार्वजनिक गर्दै आएकी छिन्।
गीत-संगीतका साथै प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा समेत रिमाको योगदान उल्लेखनीय रहेको छ। उनी विगत ६ वर्षदेखि 'कान्सास सिटी नेप्लिज सोसाइटी' (Kansas City Nepalese Society) मा सल्लाहकारको भूमिकामा रहेर नेपाली समुदायलाई एकताबद्ध गर्ने कार्यमा सक्रिय छिन्। संस्था मार्फत नयाँ वर्ष, तीज, होली, दशैं र देउसी-भैलो जस्ता सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै उनले नेपाली पहिचानलाई विदेशमा पनि जगेर्ना गरिरहेकी छिन्। यसै क्रममा गीतकार श्रेष्ठको नयाँ सांगीतिक कोसेली 'बलमा माइचा हाकुमा दाइचा' बजारमा आएको छ, जसले यतिबेला दर्शक तथा स्रोतामाझ विशेष चर्चा बटुलिरहेको छ।
रिमा श्रेष्ठकै उत्कृष्ट शब्द रचना रहेको यस नयाँ गीतमा सञ्जीत श्रेष्ठले संगीत भरेका छन् भने चर्चित गायिका प्राश्ना शाक्य र गायक राज सायमीको सुमधुर स्वर रहेको छ। 'गैन स्टुडियो' (Gain Studio) मा रेकर्ड गरिएको यस गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ सञ्जाल भण्डारीले गरेका हुन्। गीतको आकर्षक भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको जीवन्त अभिनय देख्न सकिन्छ। कुशल गुरुङले निर्माण गरेको यस भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायांकन, बिजेश पौडेलले सम्पादन र रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन्। सृष्टि थापा मगरको मेकअप र दीपेन गौतम (माइकल) को प्रोडक्सन व्यवस्थापन रहेको यस भिडियोको पोस्ट-प्रोडक्सन कार्य लाटोकोसेरो फिल्म्सले सम्पन्न गरेको हो। शब्दमा संवेदना र संस्कृतिप्रतिको प्रेम बोकेकी रिमा श्रेष्ठले यस सिर्जना मार्फत पुनः एकपटक संसारभर छरिएका नेपाली मनहरूलाई सांगीतिक सूत्रमा बाँध्न सफल भएकी छिन्।