काठमाडौं । चलचित्र ‘गौँथली’को आधिकारिक टिजर सार्वजनिक भएको छ, जसले मुख्य पात्रको केन्द्रीय द्वन्द्व र सिनेमाको मूल कथालाई प्रस्ट पारेको छ। सार्वजनिक टिजरमा एउटी आमाले छोरीको घर बसाउन गरेको संघर्ष र विवाहपछि छोरीले नयाँ घरमा भोग्नु परेको कहालीलाग्दो व्यवहारलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। पढ्ने रहर हुँदाहुँदै कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएकी युवती र सोझो सोचेको श्रीमानको असामान्य एवं खराब व्यवहारका कारण एउटा नारीको जिन्दगी कसरी तहसनहस हुन्छ भन्ने मार्मिक पक्षलाई टिजरले देखाएको छ। जन्म दिने आमाको न्यानो काख छोडेर कर्म घर पुगेकी बुहारीले कठोर सासु र बदलिएको श्रीमानबाट पाएको दुःखले दर्शकलाई भावुक बनाउने निश्चित छ।
मुख्य कलाकार र टिमको अभिनय
चलचित्रमा अभिनेता अरुण क्षेत्रीले असामान्य स्वभाव भएको श्रीमानको भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री सिम्रन खड्काले पीडित श्रीमतीको भूमिकामा अभिनय गरेकी छिन्। यी दुईका अलावा सिनेमामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको सशक्त अभिनय रहेको छ। त्यस्तै, बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीलाई पर्दामा देख्न सकिनेछ। निर्माण पक्षका अनुसार ‘गौँथली’ नामलाई चलचित्रमा घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थका रूपमा प्रयोग गरिएको छ।
पर्दा पछाडिका हस्तीहरू र निर्माण पक्ष
डा. भोला रिजालको कथा रहेको यस चलचित्रलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्। पटकथा तथा संवाद लेखनमा निर्देशक कपिललाई निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सघाएका छन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको यस फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा रहेका छन्। चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।
दुई दशक पुरानो विरासत र वितरण
स्मरणरहोस्, डा. भोला रिजालले करिब दुई दशकअघि पनि ‘गौँथली’ नाममै चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ र सो फिल्मले प्रदर्शनको ५१औँ दिनसमेत मनाएको थियो। अहिले सोही विरासतलाई निरन्तरता दिँदै नयाँ कथाका साथ यो चलचित्र आगामी साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ। रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।