बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिनु भएको छ।
विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उहाँले बताउनुभयो। छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको बताईएको छ।
बुटवल उपमहानगरपालिकाका अनुसार तत्काल डेंगीका संक्रमितको संख्या नबढेकाले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकता अनुसार फिभर क्लिनिक सञ्चालन गर्ने सम्मको तयारी रहेको उल्लेख छ। १९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौं, उहाँले भन्नुभयो, ‘यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागिता र सचेतना जरुरी हुन्छ, यदि व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौं, पानी जम्न दिनुभएन र लामखुट्टेको टोकाइबाट बच्नु पर्यो।