काठमाण्डाै – राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा व्यक्ति तथा फिल्मतर्फ गरी ८ वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको छ । नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ ले ३ वटा विधामा पुरस्कार जितेको छ ।
उत्कृष्ट निर्देशकको पुरस्कार पनि निर्देशक चौहानले प्राप्त गर्नुभएको छ । यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुनुभयो । उत्कृष्ट अभिनेताको पुरस्कार ‘परान’ फिल्मबाट वरिष्ठ अभिनेता नीर शाहले प्राप्त गर्नुभएको छ ।
उत्कृष्ट पटकथातर्फको पुरस्कार ‘परान’ ले जितेको छ । पटकथाका लागि याम थापा र दीपक आचार्य पुरस्कृत हुनुभयो । उत्कृष्ठ छायाङ्कनको पुरस्कार ‘कोशेढुङ्गा’ ले पाउँदा उत्कृष्ट पुरस्कार पनि यही फिल्मबाट नहकुल खड्काले प्राप्त गर्नुभयो ।
समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई चलचित्र दीर्घ साधना सम्मानले पुरस्कृत गरिएको छ । उहाँलाई ३ लाख ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
‘रमिताको पिरती’ बाट आना शर्मा र ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडीले जुरी प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।
समारोहमा चलचित्र क्षेत्रका ११ जनालाई विशेष योगदान सम्मान प्रदान गरिएको छ । लिम्बु भाषाको फिल्म ‘नामछोङ’ ले विशेष चलचित्र पुरस्कार पाएको छ । उत्कृष्ट आदिवासी फिल्मको पुरस्कार नेवारी फिल्म ‘इन्दिरा धिमे मैचा’ ले पाएको छ ।