Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ऐतिहासिक सम्पदा कि विवादको केन्द्र? लामपाटी दरबारमा जङ्गबहादुर जयन्तीले उठायो गम्भीर प्रश्न


८, असार २०८३
  • 127
    SHARES
  • ऐतिहासिक सम्पदा कि विवादको केन्द्र? लामपाटी दरबारमा जङ्गबहादुर जयन्तीले उठायो गम्भीर प्रश्न

    अर्घाखाँची | नेपालका ऐतिहासिक व्यक्तित्व, आधुनिक नेपालको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा नेपालका आठौँ प्रधानमन्त्री श्री ३ जङ्गबहादुर कुँवर राणाको २०९औँ जन्मजयन्ती अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ स्थित ऐतिहासिक लामपाटी दरबार (मथुराधाम) मा भव्य तथा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। श्री गोपेश्वर पीठको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले लामपाटी दरबारको संरक्षण, ऐतिहासिक पहिचानको पुनर्स्थापना, गुठी जग्गा विवाद समाधान तथा यस क्षेत्रको पर्यटकीय विकासलाई मुख्य प्राथमिकताका रूपमा उठाएका छन्।

    कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले नेपालको इतिहाससँग प्रत्यक्ष जोडिएको लामपाटी दरबारको संरक्षण अब केवल स्थानीय चासोको विषय नभई राष्ट्रिय महत्वको विषय भएको बताउनुभयो। उहाँले जङ्गबहादुर राणाको जन्मस्थलसँग सम्बन्धित ऐतिहासिक तथ्यहरूको थप खोज, अनुसन्धान तथा दस्तावेजीकरण गर्न विशेषज्ञ टोली परिचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

    मन्त्री घिमिरेले अर्घाखाँची पछिल्लो समय धार्मिक तथा आन्तरिक पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकसित हुँदै गएको बताउँदै अब जिल्लालाई समग्र पर्यटन सर्किटमा जोड्ने गरी दीर्घकालीन योजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

    उहाँले भन्नुभयो-"सुपादेउराली, नरपानी, अर्घाभगवती, मालारानीको नृसिंहस्थान, छत्रमहाराज तथा पाणिनी तपोभूमिजस्ता स्थापित धार्मिक तथा ऐतिहासिक क्षेत्रसँगै अब गोपेश्वर पीठ, लामपाटी दरबारदेखि बल्कोटसम्मको भूभागलाई समेटेर नयाँ पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ।"

    कार्यक्रममा लामो समयदेखि चर्चामा रहेको लामपाटी दरबारसँग सम्बन्धित गुठी जग्गा विवाद प्रमुख बहसको विषय बन्यो। मन्त्री घिमिरेले गुठी जग्गा अतिक्रमण सम्बन्धी विवादको समाधान कानुनी प्रक्रिया अनुसार सम्बन्धित निकाय, विशेषतः मालपोत कार्यालय वा अदालतबाट हुने स्पष्ट पार्दै तथ्यका आधारमा निर्णय हुने बताउनुभयो।

    यस्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख विशाल खनालले जिल्लामा सुशासन कायम राख्न प्रशासन पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै सार्वजनिक वा गुठी जग्गा अतिक्रमण भएको प्रमाणित भएमा कानुन अनुसार कारबाही अगाडि बढाइने बताउनुभयो।

    स्थानीय तहको तर्फबाट बोल्दै सन्धिखर्क नगरपालिका-५ का वडा अध्यक्ष ऋषप अधिकारीले लामपाटी क्षेत्रको विकास तथा संरक्षणका लागि वडा कार्यालय निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले प्रदेश सरकारसँग यस क्षेत्रको ऐतिहासिक महत्व झल्किने सूचना बोर्ड, पर्यटकीय संकेत तथा संरचनागत विकासका योजना तत्काल अघि बढाउन आग्रह गर्नुभयो।

    कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले अर्घाखाँची जिल्लालाई पर्यटकिय हब बनाउन लामपाटी दरबारको पनि महत्वपुर्ण भुमिका रहने भन्दै यसको संरक्षण र सम्बर्द्धन गर्न जरुरी छ । लामो समयदेखि बल्झिरहेको गुठी जग्गा विवादप्रति गम्भीर प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। उहाँले प्रश्न गर्नुभयो-"वर्षौँदेखि सार्वजनिक रूपमा चर्चामा रहेको यो विवाद आजसम्म किन समाधान हुन सकेन? सन्धिखर्क नगरपालिकाले किन यस विषयमा निर्णायक पहल गर्न सकेको छैन?" उहाँको भनाइले कार्यक्रममा उपस्थित सरोकारवालाबीच गम्भीर बहस सिर्जना गरेको थियो।

    यता जग्गा अतिक्रमणको आरोप खेपिरहेका स्थानीय बासिन्दा शोभाखर भुसालले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्दै मालपोत कार्यालयबाट कानुनी प्रक्रिया पूरा गरी उक्त जग्गाको लालपुर्जा प्राप्त भइसकेकाले अनावश्यक विवाद सिर्जना गर्नु उचित नभएको प्रतिक्रिया दिनुभयो।

    कार्यक्रममा इतिहासविद् लेखबहादुर टण्डनले जङ्गबहादुर राणाको राजनीतिक जीवन, नेपालको पहिलो लिखित कानुन ‘मुलुकी ऐन १९१०’, बेलायत भ्रमण तथा तत्कालीन नेपालको सामाजिक-राजनीतिक संरचनाबारे विस्तृत ऐतिहासिक विश्लेषण प्रस्तुत गर्नुभयो।

    इतिहासको प्रसंगमा उल्लेख गरिएअनुसार तत्कालीन राजा रणबहादुर शाहका विश्वासपात्र काजी बालनरसिंह कुँवरलाई वि.सं. १८६९ मा जुम्लाको सिंजा विद्रोह नियन्त्रणका लागि पठाइएको थियो। लामो समय जुम्लामा बसाइँका क्रममा उहाँले आफ्नी कान्छी श्रीमती गणेश कुमारीलाई पनि सँगै राख्नुभएको थियो। गर्भवती भएपछि परम्परा अनुसार माइत फर्काउने क्रममा अर्घाखाँचीको मथुराधाम आइपुग्दा वि.सं. १८७४ साल आषाढ ७ गते दोपहरमा जङ्गबहादुर कुँवर (राणा) को जन्म भएको ऐतिहासिक तथ्य कार्यक्रममा स्मरण गरिएको थियो।

    मथुरा गोपेश्वर पीठका अध्यक्ष ढुडिराज अधिकारीको अध्यक्षता तथा नारायण भट्टराईको सञ्चालनमा सम्पन्न कार्यक्रममा छत्रदेव गाउँपालिका-५ का पूर्व वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, नेकपा एमालेका नेता प्रेम गैरे, नेपाली कांग्रेसकी महिला नेत्री शान्ता अर्याल लगायत विभिन्न राजनीतिक दल, सामाजिक संस्था, बुद्धिजीवी, इतिहासप्रेमी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    अर्घाखाँचीको मथुराधामस्थित लामपाटी दरबार केवल एउटा ऐतिहासिक संरचना मात्र नभई नेपालको राजनीतिक इतिहाससँग प्रत्यक्ष जोडिएको राष्ट्रिय सम्पदा भएको सहभागीहरूको निष्कर्ष थियो। कार्यक्रममा उठेका आवाजहरूले अब यसको संरक्षण, गुठी जग्गा विवाद समाधान र पर्यटन विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने सन्देश स्पष्ट रूपमा दिएको देखिन्छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend