काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले सबै आन्दोलनहरुलाई राजनीतिक ट्याग दिँदा थरुहट आन्दोलनको घटनालाई आपराधिक ठहर गरिएकोमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थरुहट आन्दोलनको घटनालाई आपराधिक ठहर गरिएकोमा आपत्ति जनाएका हुन्।
टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतबाट सदर भएसँगै पार्टीले विज्ञप्ति निकालेको हो। उपाध्यक्ष पण्डितले देशका तीनै तहका अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेपछि अब कानुन बनाएर फाँसीमा चढाइदिन आग्रह गरेका छन्।
‘अब सरकारसँग हाम्रा माग मात्रै २ वटा माग छन्। पहिलो, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ। सरकारले लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्छ। दोस्रो यदि रेशमलाल चौधरी लगायत राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाई फाँसी दिए हुन्छ। यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन। हामी आन्दोलन गर्न विवश हुन्छौँ’, विज्ञप्तिमा भनिएको छ।
उन्मुक्ति पार्टीले थरुहट आन्दोलनलाई आपराधिक बनाइएकोमा पनि आपत्ति जनाएको छ। २०७२ सालमा टीकापुरमा भएको घटना किन राजनीतिक बनेनरु अहिलेको सरकारले किन बनाउन चाहेनरु यो हाम्रो चिन्ताको विषय हो। हिजो आदलतको फैसला न्यायमूर्तिहरूका निर्णय स्वीकार्य त छ तर यो राजनीतिक मुद्दा अदालती होइन। सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्नु। टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति अनुसार पार्टीले जेठ ३, ४, ५ गते देशव्यापीरुपमा आन्दोलन र जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने जनाएको छ। आजै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको बैठक छाडेर उनका श्रीमान रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार गएकी थिइन्।