काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ । ७ प्रदेशमा प्रदेशस्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन ।
नेता डा. प्रकाशशरण महतले समूहको १५ औँ महाधिवेशन सम्पर्क कार्यालयको २२ गते औपचारिक उद्घाटन गर्ने र त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति तय गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘हामीले महाराजगञ्जमा भाडामा ल्याएको सम्पर्क कार्यालय २२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेका छौँ । कार्यालय उद्घाटनपछि त्यही बैठक बसेर राष्ट्रिय भेलाको मिति तोक्छौ,’ डा. महतले भने ।
बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला, रमेश लेखक, एनपी साउँद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित थिए ।