काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८३ श्रावण १३ गते बसेको आकस्मिक बैठकले पार्टीका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री, तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति तथा ऐतिहासिक १२ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक स्वर्गीय गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव तथा विभिन्न शोक कार्यक्रमसहितको निर्णय सर्वसम्मतिले पारित गरेको छ।
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार, ७९ वर्षीय श्रेष्ठको २०८३ श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केन्द्रीय कार्यसमितिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ।
साथै शोकसन्तप्त परिवार, आफन्तजन तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो अपूरणीय क्षति सहने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरिएको छ।
विज्ञप्तिमा विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न आन्दोलन र संघर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्ने क्रममा उहाँले पटक–पटक गरी करिब छ वर्ष जेल जीवन समेत व्यतीत गर्नुभएको थियो।
श्रेष्ठ वि.सं. २०४८, २०५६ र २०६४ मा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बन्नुभएको थियो।
उहाँले नेपाल सरकारमा उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य तथा शिक्षा मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो।
साथै उहाँ नेपाली कांग्रेस संसदीय दलका पूर्व प्रमुख सचेतक समेत रहनुभएको थियो। वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मनुभएका स्वर्गीय श्रेष्ठको राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्याउनुभएको विशिष्ट योगदानप्रति नेपाली कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ।
विज्ञप्तिमा उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज, अनुभवी तथा दूरदर्शी राजनीतिज्ञ गुमाएको उल्लेख गर्दै पार्टी संगठन निर्माण, विस्तार र सुदृढीकरणमा उहाँले पुर्याउनुभएको योगदान तथा लोकतान्त्रिक आन्दोलनप्रतिको अविचल प्रतिबद्धता पार्टीको इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहने उल्लेख गरिएको छ।
यसैबीच, स्वर्गीय नेता गोपालमान श्रेष्ठप्रति उच्च सम्मान प्रकट गर्दै केन्द्रीय कार्यसमितिले २०८३ श्रावण १३, १४ र १५ गतेसम्म तीन दिन पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, श्रावण १४ गते सबै पार्टी कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा १३औँ दिन गृह जिल्ला स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्ला स्तरमा शोकसभा आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।