काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको छ। पार्टी नेतृत्वसँग सहमति नजुटेको भन्दै संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ।
भेलाको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा इतर समूहका शीर्ष नेताहरू सहभागी भएका थिए। समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति गठन गरेको छ भने भेला सफल बनाउन १६ वटा तयारी समिति पनि बनाइएको छ।
नेता मीन विश्वकर्माका अनुसार राजनीतिक, समसामयिक विषय, संगठन, विधान मस्यौदालगायतका विषयमा छुट्टाछुट्टै समिति गठन गरिएको छ। चाँडै केन्द्रीय कार्यसमिति बैठक बोलाएर सबै समितिका संयोजक र सदस्य टुंग्याइने उनले बताए।
आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टी एकताका लागि पटक–पटक पहल गर्दा पनि नेतृत्वबाट सकारात्मक भूमिका नदेखिएपछि राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको बताए।
उनले पार्टीभित्रको वर्तमान अवस्था तथा मुलुकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विषयमा गहन छलफल गर्दै स्पष्ट वैचारिक, नीतिगत र संगठनात्मक कार्यदिशा तय गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताए।
यता, संस्थापन पक्षले भने विशेष महाधिवेशनको प्रस्ताव अस्वीकार गर्दै विधानबाहिरका माग अघि सारिएपछि सहमतिको सम्भावना कमजोर भएको निष्कर्ष निकालेको छ। साथै, गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकताविरुद्ध अदालत पुगेको विषयले पनि दुवै पक्षबीचको दूरी बढाएको छ।