काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
शुक्रबार उक्त पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाका आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवाले भेलालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।
कोइरालाका अनुसार मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको एकता कायम गर्दै भावी कार्यदिशा तय गर्ने उद्देश्यले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो।
“मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न यही २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाको आयोजना गरिएको छ,” कोइरालाले भने, “भेलालाई आदरणीय सभापति शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।” उनले राष्ट्रिय भेलामा सहभागी हुन पार्टीका संगठन, भ्रातृसंस्था तथा शुभेच्छुकहरूलाई आग्रहसमेत गरेका छन्।
यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकोप्रति आयोजक पक्षले स्वागत गरेको छ।
कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला तथा आदेशविरुद्ध न्यायिक पुनरवलोकनका लागि दिएको निवेदनमा अदालतले साउन २१ गते पुनरवलोकनको अनुमति दिएको जानकारी दिए।
“सर्वोच्च अदालतको यो निर्णयको हार्दिक स्वागत गर्दछु,” उनले भने, “सर्वोच्च अदालतबाट अब हुने पुनरवलोकनबाट न्याय प्राप्त हुने कुरामा विश्वस्त छौँ।”
राष्ट्रसामु देखिएका चुनौतीको सामना गर्न कांग्रेसजनलाई एकताबद्ध गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको कोइरालाले बताए। यसैबीच, पूर्वसभापति देउवा यही साउन २६ गते नेपाल फर्कने कार्यक्रम रहेको बताइएको छ।