बिजय रेग्मी, काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढ्न थालेको छ।
यही माहोलबीच भर्सटाइल गायिका रीता केसीले नारी भावना, तीजको मौलिकता र सांस्कृतिक खुसीलाई समेटिएको नयाँ मौलिक तीज गीत ‘कहानी नारीको’ सार्वजनिक गरेकी छन्।
लक्ष्मी अर्यालको शब्द तथा संगीत रहेको गीतमा गायिका रीता केसीलाई चर्चित गायक हेमन्त कान्छा रसाइलीले स्वरमा साथ दिएका छन्। गीतमा तीज पर्वसँग जोडिएका भावना, नारी संवेदना र पारिवारिक खुसीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
आधुनिक, लोक तथा गजल गायनमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका केसीले पछिल्लो समय तीज गीतमार्फत पनि दर्शक–स्रोताको मन जित्दै आएकी छन्।
अघिल्ला वर्षमा आफ्ना तीज गीतले पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित केसीले यस वर्षको ‘कहानी नारीको’ अझ विशेष हुने विश्वास व्यक्त गरेकी छन्। तीजको मौलिकता र सांस्कृतिक पक्षलाई प्राथमिकतामा राखेर तयार गरिएको उक्त गीत हालै एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक भएसँगै यसले सांगीतिक क्षेत्रमा चर्चा बटुल्न थालेको छ। पछिल्लो समय तीज गीतका नाममा विकृति र विसंगति बढ्दै गएको गुनासो भइरहेका बेला **‘कहानी नारीको’**ले भने तीजको सांस्कृतिक भावना र नारी संवेदनालाई केन्द्रमा राखेको छ। त्यसैले पनि गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
गीत सार्वजनिक भएपछि गायिका रीता केसी पनि निकै उत्साहित र आशावादी देखिएकी छन्। उनले तीजको मौलिकता र नेपाली संस्कृतिलाई सम्मान गर्दै तयार गरिएको आफ्नो नयाँ सिर्जनालाई दर्शक–स्रोताले मन पराउने विश्वास व्यक्त गरेकी छन्।
‘कहानी नारीको’को म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ। गीतको भिडियो डिजिटल माध्यममार्फत दर्शक–स्रोतामाझ उपलब्ध छ।