काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी शिविरमा कुनै अनियमिमिता भएको प्रमाणित भए आफु जेल जान तयार रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टको कुरा राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको भन्दै यस बिषयमा छानविनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताए । उनले पूर्व माओवादी लडाकुलाई वितरण गरिएको पैसामा भ्रष्टाचार भयो भन्ने कुरा आरोप मात्रै भएको जिकिर गरे ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डका साथै सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न आफु तयार रहेको जानकारी दिए । प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका कुनै पनि दोषीलाई उम्कन नदिने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले टिकापुर घटना राजनीतिक घटना नै भएको भन्दै रेशम चौधरीलाई न्याय दिनका लागि सरकार अघि बढ्ने बताए ।उनले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयबाट अघि बढाउने भन्ने बिषयमा छलफल भइरहेको बताए ।