काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले न्यौपानेलाई पार्टीमा स्वागत गर्दै कांग्रेस प्रवेश गराएका हुन्।
रास्वपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे। मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापाको नेतृत्वमा पार्टी अघि बढिरहेको विश्वासका कारण आफू कांग्रेसमा जोडिएको बताए।
न्यौपानेले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय भएर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए। स्वागत गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तासँग सहकार्य गरेर सक्रिय रूपमा काम गर्न आग्रह गरे।
न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तारमा थप सहयोग पुग्ने विश्वास सभापति थापाले व्यक्त गरे। रास्वपाका पूर्व नगर सभापतिको कांग्रेस प्रवेशलाई सर्लाहीको स्थानीय राजनीतिक समीकरणमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।