काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
बाढी आएको छैटौँ दिनको वस्तुस्थिति फेसबुकमार्फत सार्वजनिक गर्दै उनले विपद् व्यवस्थापनमा संघीय सरकारलाई तल्लो तहका सरकारहरूले दिएको साथ र समन्वय निकै महत्त्वपूर्ण रहेको बताएका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको छ भने ९३९ जनाको शव फेला परेको छ ।
राहत वितरणमा स्थानीय सरकारको सक्रियताले ३ हजार ६९६ प्रभावित नागरिकसम्म सामग्री पुगेको उनले उल्लेख गरे । 'स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,' उनले भने ।
प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी संकलन भइसकेको र सो रकम पारदर्शी रूपमा पीडितको हितमा प्रयोग गरिने उनले प्रतिबद्धता जनाए ।
सडक, विद्युत् र सञ्चार सेवा पुनःस्थापनामा भइरहेको प्रगतिबारे जानकारी दिँदै उनले अब सरकारको ध्यान पूर्णतः पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनमा केन्द्रित हुने बताए । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण यस्ता विपद् बढेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने समय आएको समेत उल्लेख गरेका छन् ।