काठमाडौं । डोमिनिकन रिपब्लिककी २४ वर्षीया मोडल तथा सामाजिक अभियन्ता जोहेरी मोलाले ‘मिस वल्र्ड २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्। भियतनामको न्हा ट्राङ सहरमा शनिबार साँझ सम्पन्न ७३औँ मिस वल्र्ड प्रतियोगितामा विश्वभरबाट सहभागी १११ जना प्रतिस्पर्धीलाई पछि पार्दै मोलाले विश्व सुन्दरीको ताज आफ्नो नाममा लेखाएकी हुन्।
मोलाको ऐतिहासिक जितसँगै डोमिनिकन रिपब्लिकले दोस्रो पटक मिस वल्र्डको ताज जित्न सफल भएको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो पटक देशका लागि विश्व सुन्दरीको उपाधि जितेकी थिइन्। चार दशकभन्दा बढी समयपछि जोहेरीले फेरि एकपटक आफ्नो देशलाई विश्व सुन्दरीको सर्वोच्च उपाधि दिलाएकी छन्।
७३औँ मिस वल्र्डको विजेताको ताज गत वर्षकी विजेता ओपल सुचाताले जोहेरीलाई पहिर्याइदिएकी थिइन्। विजेता घोषणा भएसँगै जोहेरीको नाम अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको इतिहासमा थपिएको छ।
प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेनेस अलाबर्न प्रथम उपविजेता बनेकी छन्। त्यस्तै, मलेसियाकी तानुसिया चेट्टी दोस्रो उपविजेता घोषित भइन्। उनले प्रतियोगिताको प्रतिष्ठित ‘ब्युटी विथ अ पर्पोज’ विधाको उपाधिसमेत जितेकी छन्।
प्रतियोगिताको अन्तिम ६ मा इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतिनिधिहरू पुग्न सफल भएका थिए। विभिन्न चरणमा प्रतिभा, व्यक्तित्व, सामाजिक योगदान तथा प्रस्तुतीकरणका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको थियो।
को हुन् नयाँ विश्व सुन्दरी जोहेरी मोला ?
विश्व सुन्दरीको ताज जितेकी २४ वर्षीया जोहेरी मोला डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङ्गोकी बासिन्दा हुन्। उनी केवल मोडलका रूपमा मात्र परिचित छैनन्, शिक्षिका, पत्रकार तथा सामाजिक अभियानकर्ताका रूपमा समेत सक्रिय छिन्।
उनले युनिभर्सिडाड इबेरोअमेरिकानाबाट व्यावसायिक व्यवस्थापन तथा प्रशासनमा स्नातक अध्ययन पूरा गरेकी छन्। शिक्षण क्षेत्रमा पनि सक्रिय रहेकी उनले विद्यालयहरूमा साहित्य र सामाजिक अध्ययन अध्यापन गराउँदै आएकी छन्।
बालबालिका र युवाको शिक्षा तथा अवसर विस्तारमा विशेष रुचि राख्ने मोलाले आफ्नै समुदायमा अंग्रेजी भाषा शिक्षामा पहुँच बढाउने उद्देश्यले ‘भोइसेज अफ टुमारो’ नामक सामाजिक संस्था स्थापना गरेकी छन्। उक्त पहलमार्फत युवाहरूलाई भाषा सिकाइसँगै भविष्यका अवसरका लागि तयार पार्ने अभियानमा उनी सक्रिय छिन्।
सामाजिक सेवासँगै सञ्चार क्षेत्रमा पनि सक्रिय रहेकी मोलाले मार्च २०२६ मा युनिभिजनका लागि प्रत्यक्ष रिपोर्टरका रूपमा काम गरेकी थिइन्। त्यसपछि मे २०२६ मा युनिसेफको टेलिथन कार्यक्रममा सहभागी हुँदै बालबालिकाको सहयोगका लागि सञ्चालन गरिएको अभियानमा योगदान पुर्याएकी थिइन्।
शिक्षा, पत्रकारिता र सामाजिक अभियानको अनुभवलाई विश्व मञ्चमा प्रस्तुत गर्दै जोहेरीले ‘मिस वल्र्ड २०२६’ को ताज जितेकी छन्। उनको जितलाई सौन्दर्य प्रतियोगिताको सफलता मात्र नभई सामाजिक उद्देश्य, शिक्षा र युवाको सशक्तीकरणलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने उपलब्धिका रूपमा समेत हेरिएको छ।
विश्वका १११ प्रतिस्पर्धीलाई पछि पार्दै विश्व सुन्दरी बनेकी जोहेरी मोला अब मिस वल्र्डको नयाँ प्रतिनिधिका रूपमा विश्वभर सामाजिक अभियान, मानवीय सेवा र ‘ब्युटी विथ अ पर्पोज’को अवधारणालाई अगाडि बढाउने जिम्मेवारीमा रहनेछिन्।