Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान


२४, भदौ २०८३
  • 432
    SHARES
  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान

    काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका ज्ञात-अज्ञात नागरिकको आत्मोद्धार तथा विपत्तिबाट प्रभावित परिवारको शान्ति, उद्धार र पुनःस्थापनाको कामनासहित नुवाकोटको देवीघाटमा विशेष धार्मिक तथा आध्यात्मिक अनुष्ठान सम्पन्न भएको छ।

    हिमताल फुटेर ल्हेन्दे खोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको पृष्ठभूमिमा राष्ट्रिय शोक दिवसका अवसरमा यस्तो अनुष्ठान गरिएको हो।

    श्री १००८ स्वामी रमणानन्द गिरिको नेतृत्व तथा महेश छात्र परिषद्को संयोजनमा देवीघाटमा आयोजित कार्यक्रममा दिवङ्गत आत्माको शान्ति तथा उद्धारका लागि श्रीमद्भागवत महापुराण, श्रीमद्भगवद्गीता, पितृसूक्त, विष्णुसहस्रनाम पाठ, भगवन्नाम सङ्कीर्तन, त्रिशूली गङ्गाको विशेष पूजा-आरती तथा लक्ष्यवर्ति दीप (लाखबत्ती) प्रज्वलन लगायतका धार्मिक कृत्य सम्पन्न गरिए।

    विपत्तिमा आध्यात्मिक समाजको पनि दायित्व

    कार्यक्रमका क्रममा प्राकृतिक विपत्तिमा अकालमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको आत्मशान्तिका लागि धार्मिक-आध्यात्मिक अनुष्ठान आवश्यक रहेको सन्देश दिइयो।

    सनातनी परम्पराअनुसार मृत्यु संस्कार, काजक्रिया तथा अन्त्येष्टि गर्नसमेत कठिन भएको विषम परिस्थितिमा धार्मिक समाज र आध्यात्मिक क्षेत्र मौन बस्न नहुने धारणा आयोजकहरूले अघि सारेका छन्।

    ‘परस्परं भावयन्तः परं श्रेयमावाकस्येथ’ भन्ने गीता सन्देशलाई आत्मसात् गर्दै विपत्तिको समयमा सबै नेपालीले आफ्नो क्षमताअनुसार एकअर्कालाई सहयोग गर्नुपर्नेमा पनि जोड दिइएको छ।

    देवीघाटमै किन गरियो विशेष अनुष्ठान ?

    त्रिशूली र तादी नदीको सङ्गमस्थल देवीघाट धार्मिक तथा ऐतिहासिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यहाँ चतुःषष्टि ज्योतिर्लिङ्गमध्ये भैरवेश्वर महादेव तथा भगवती जाल्पादेवीको सान्निध्य रहेको छ।

    राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको अन्तिम सद्गतिसँग समेत जोडिएको यस पवित्र परिसरमा त्रिशूली गङ्गाको साक्षी राखेर दिवङ्गत आत्माहरूको उद्धारको सत्सङ्कल्प गरिएको  आयोजकहरूले बताएका छन्।

    उद्धारसँगै पुनःस्थापनामा जोड

    आध्यात्मिक अनुष्ठानसँगै कार्यक्रमले विपत्तिमा परेका नागरिकको जीवित उद्धार, राहत, पुनःस्थापना तथा दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्न सरकार र समाजलाई आग्रह गरेको छ।

    बाढीमा बेपत्ता नागरिकको खोजी, जीवित उद्धार तथा प्रभावित परिवारको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि राज्यका सबै संयन्त्रलाई थप प्रभावकारी ढंगले परिचालन गर्नुपर्नेमा जोड दिइएको छ।

    उद्धार तथा राहतमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षा तथा उद्धारकर्मीको योगदानको प्रशंसा गर्दै उनीहरूको मनोबल उच्च राख्नु सरकार र नेपाली समाजको साझा दायित्व भएको पनि बताइएको छ।

    देश-विदेशमा श्रद्धाञ्जलि र प्रार्थना

    राष्ट्रिय शोक दिवसका अवसरमा देशका प्रमुख तीर्थस्थल, पशुपतिनाथ क्षेत्र, वाग्मती तट, देवघाटधाम, देवीघाट, त्रिशूलीलगायत नदीकिनार तथा मठ-मन्दिर र गुरुकुलमा धार्मिक-आध्यात्मिक कार्यक्रम आयोजना गरिएको आयोजकहरूको भनाइ छ।

    देशबाहिर रहेका सनातनी प्रवासी नेपालीहरूले समेत आ-आफ्नो स्थानबाट गीता तथा भागवत पाठ–पारायण, पितृसूक्त पाठ, नामसङ्कीर्तन र दीप प्रज्वलन गर्दै दिवङ्गतप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

    कार्यक्रमले नेपाल र नेपालीको हित तथा उत्थान चाहने विश्वभरका सहृदयी समुदायलाई विपत्तिमा सहयोग, सद्भाव र मानवीय सहकार्यका लागि समेत आह्वान गरेको छ।

    प्राकृतिक विपत्तिले दिएको पीडाबाट बाहिर निस्कन राहत मात्र पर्याप्त नहुने र दीर्घकालीन पुनःस्थापनासँगै सामाजिक, मानवीय तथा आध्यात्मिक सहकार्य आवश्यक रहेको सन्देश देवीघाटको अनुष्ठानले दिएको छ।

    WhatsApp Image 2026-09-09 at 11.35.23 AM.jpeg

    qq.jpeg

    www.jpeg

    WhatsApp Image 2026-09-09 at 11.34.54 AM.jpeg

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend