Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन


३१, भदौ २०८३
  • 108
    SHARES
  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारका लागि सहयोग जुटाउने उद्देश्यले विदेशमा विशेष च्यारिटी स्क्रिनिङ गर्ने भएको छ।

    कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी प्राइज जितेको चलचित्रले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई नेपालप्रतिको ऐक्यबद्धतासँग जोड्दै फ्रान्समा विशेष प्रदर्शन गर्न लागेको हो। चलचित्रको फ्रान्सेली रिलिज सेप्टेम्बर २३ बाट हुँदैछ भने त्यसअघि सेप्टेम्बर १७ मा पेरिसस्थित यूजीसी लेस हल्समा विशेष प्रिभ्यू स्क्रिनिङ आयोजना गरिनेछ।

    निर्देशक अविनाश विक्रम शाह स्वयं उपस्थित हुने उक्त प्रदर्शनलाई ‘नेपालसँगको ऐक्यबद्धता’ अभियानका रूपमा आयोजना गर्न लागिएको जनाइएको छ। विशेष प्रदर्शनबाट फ्रान्सेली वितरकलाई प्राप्त हुने आम्दानी नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदान गरिनेछ। कार्यक्रममा फ्रान्सका लागि नेपालका राजदूतको समेत उपस्थिति रहनेछ।

    निर्देशक शाहले सिनेमा प्रदर्शनमार्फत पनि विपद्मा परेका नेपालीलाई सहयोग गर्न सकिने बताएका छन्। “हामी जहाँबाट सक्छौँ, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौँ,” उनले भने, “पेरिसबाट पनि हामी सिनेमा स्क्रिनिङ गरेर भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्दैछौँ।”

    चलचित्रका निर्माता प्रचण्डमान श्रेष्ठ र मुख्य अभिनेत्री पुष्पा थिङ नुवाकोटका हुन्। बाढीका कारण श्रेष्ठको घरसमेत क्षतिग्रस्त भएको थियो। यही व्यक्तिगत पीडासँगै चलचित्र टोलीले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत अभियानलाई निरन्तरता दिएको हो।

    यसअघि चलचित्र टोलीले नेपालमै पनि बाढीपीडितका लागि विशेष प्रदर्शन आयोजना गरेको थियो। भदौ १७ गते काठमाडौंमा गरिएको विशेष स्क्रिनिङबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा प्रदान गरिएको थियो। नेपालमा भइरहेको प्रदर्शनसँगै विदेशमा समेत चलचित्रमार्फत सहयोग जुटाउने अभियान अघि बढाइएको हो।

    ‘एलिफेन्ट्स इन द फग’ अहिले नेपालमा प्रदर्शनरत छ। चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाइएको छ। अविनाश विक्रम शाह निर्देशित चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन, संघर्ष र सामाजिक यथार्थलाई कथाको केन्द्रमा राखेको छ।

    चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

    नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण भएको हो। नेपालबाट अनुप पौडेल निर्माता रहेका छन् भने फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माताका रूपमा रहेका छन्।

    चलचित्रमा प्रचण्डमान श्रेष्ठसहित ब्राजिलका तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाललगायत सह–निर्माताका रूपमा जोडिएका छन्। चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेका चलचित्रका एशोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी रहेका छन्।

    ‘एलिफेन्ट्स इन द फग’को अन्तर्राष्ट्रिय यात्रा अब केवल नेपाली सिनेमाको प्रतिनिधित्वमा सीमित नरही विपद्मा परेका नेपालीका लागि सहयोग र ऐक्यबद्धताको माध्यमसमेत बन्न पुगेको छ। पेरिसबाट सुरु हुने विशेष प्रदर्शनमार्फत संकलित सहयोग बाढीपीडितसम्म पुर्‍याउने उद्देश्यले चलचित्र टोलीले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सामाजिक अभियानसँग जोडेको हो।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend