काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका तथा सीमान्तकृत नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधानले परिकल्पना गरेका मौलिक हक नागरिकको दैनिक जीवनमा अनुभूत हुने अवस्था सिर्जना भए मात्रै लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता पुष्टि हुने बताएका हुन्।
उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने काम अझै पूरा हुन नसकेको उल्लेख गरेका छन्। संविधानमा व्यवस्था गरिएका अधिकार व्यवहारमा सीमान्तकृत नागरिकसम्म पुग्नुपर्ने उनको जोड छ।
लामिछानेले संविधानलाई स्थिर दस्तावेजका रूपमा मात्र नभई राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा परिस्कृत र आवश्यकताअनुसार संशोधन गर्न सकिने ‘जीवन्त दस्तावेज’का रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार संविधानमा नै व्यवस्था गरिएका विषयले समेत समयअनुसार समीक्षा आवश्यक रहेको देखाएको छ। त्यसैले अबको संवैधानिक समीक्षा समाजको पिँधमा रहेका मानिसको अवस्था र उनीहरूले पाएको अधिकारलाई केन्द्रमा राखेर गरिनुपर्ने उनको भनाइ छ।
‘बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउन विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन नै संविधान दिवस हो,’ लामिछानेले सन्देशमा भनेका छन्।
उनले संविधान दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नगरी लोकतान्त्रिक व्यवस्था, समावेशिता र राज्य सञ्चालनका कमजोरीमाथि गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
लामिछानेले व्यक्तिगत तथा दलगत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक शक्ति, राज्यका अंग र आम नागरिकलाई आह्वानसमेत गरेका छन्।
उनको सन्देशमा संविधानको प्रभावकारिता त्यसमा लेखिएका अधिकारको संख्याले मात्र नभई ती अधिकार समाजको सबैभन्दा कमजोर तहसम्म कति व्यवहारिक रूपमा पुगे भन्ने आधारमा मूल्यांकन हुनुपर्ने धारणा देखिन्छ।