काठमाडौँ । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह सुरु भएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका उच्च पदाधिकारी, विशिष्ट व्यक्तित्व तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विभिन्न टोलीले कवाज तथा प्रदर्शन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। विभिन्न सांस्कृतिक झाँकी टोलीले समेत आफ्नो प्रस्तुति दिनेछन्।
संविधान जारी भएको दिनको स्मरणमा आयोजना गरिएको समारोहमा नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय एकताको भावनालाई प्रतिबिम्बित गर्ने विविध कार्यक्रम प्रस्तुत गरिँदैछ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ।
यस अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले पनि संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन्।
संविधान दिवसका अवसरमा सरकारी तथा सार्वजनिक निकायहरूले संविधानको कार्यान्वयन, मौलिक हक, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय एकताका विषयमा विभिन्न कार्यक्रम तथा सन्देशमूलक गतिविधि सञ्चालन गरेका छन्।