काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने शक्ति बलियो रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाको अभियानलाई सरकारले निरन्तर अघि बढाइरहेको बताएका हुन्।
प्रधानमन्त्री शाहले भ्रष्टाचारविरुद्धको अभियानको सुरुवात मात्र भएको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए।
“म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्। झन् धेरै छन्,” उनले भने।
उनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको बताए। प्रभावकारी प्रशासन र जवाफदेही शासनबिना मुलुकको विकासले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले सरकारले प्रशासनिक संरचनालाई आवश्यकताअनुसार उपयुक्त आकारमा ल्याउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको जानकारी दिए।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारे। सरकार संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै अघि बढिरहेको उनको भनाइ थियो।
“यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,” प्रधानमन्त्री शाहले भने।
संविधान दिवसको अवसरमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सरकारका मन्त्री, उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक टोलीले कवाज र सांस्कृतिक प्रस्तुति गरेका थिए।