काठमाडौँ, ४ असोज । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन्। चीन कानुन समाजको आयोजनामा हुने अन्तर्राष्ट्रिय कानुनी सहकार्यसम्बन्धी उक्त कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ग्वान्झाउ प्रस्थान गरेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानन्यायाधीश शर्माले कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कानुनी सहकार्यका विषयमा हुने छलफलमा सहभागिता जनाउनेछन्। प्रधानन्यायाधीश शर्मासँगै भ्रमण टोलीमा उनकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन्।
अन्तर्राष्ट्रिय कानुनी सहकार्य, न्यायिक क्षेत्रबीचको सम्बन्ध तथा कानुनी अभ्यासका विविध पक्षमा विचार–विमर्श हुने उक्त फोरममा विभिन्न मुलुकका प्रतिनिधिको सहभागिता रहनेछ। प्रधानन्यायाधीश शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ।